• २०८३ असार ७
  • 2026 June 21, Sunday

दीपशिखाको आह्वान : नारायणहिटीका ‘भूत’ लखेट्न फेरि एकजुट बनौं

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएल (योङ्ग कम्युनिस्ट लिग) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले राजावादीहरूको बढ्दो गतिविधिको प्रतिवाद गर्न जनयुद्धमा सहभागी भएका सम्पूर्ण युवाहरूलाई एकजुट हुन आह्वान गरेका छन्।

आइतबारदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै दीपशिखाले माओवादीका सबै घटकमा रहेका युवाहरूलाई साझा उद्देश्यका लागि एक ठाउँमा उभिन आग्रह गरे।

उनले भने, “नारायणहिटीमा बसेको भूतलाई हामीले नागर्जुन पठाएका थियौं, आजभोलि फेरि मात्तिन थालेका छन्। तिनलाई फेरि लखेट्न हामीलाई एउटै मोर्चामा आउनु जरुरी छ।”दीपशिखाले वर्तमान युगको चुनौतीसँग जुध्न ‘२०६४ सालको जस्तो संगठन र एआई (कृत्रिम बुद्धिमत्ता) जस्तो चेतनाले भरिएको’ वाइसीएल निर्माण गर्नुपर्ने बताए।

उनले संगठनको नेतृत्वभन्दा पनि पार्टी नेतृत्वका लागि तयार रहने सन्देश पनि दिएका छन्।माओवादी केन्द्रको सहायक संगठन वाइसीएलले तीन दिनसम्म चल्ने सम्मेलनमार्फत नेतृत्व चयनसँगै संगठनात्मक रणनीति तय गर्ने जनाएको छ।