
चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहद्वारा गरिएको प्रदर्शन हिंसात्मक भएपछि दुई जनाको मृत्यु भएको थियो भने धेरै मानिस घाइते भएका थिए। त्यस दिन सार्वजनिक र निजी सम्पत्तिमा व्यापक तोडफोड र आगजनीसमेत भएको थियो।
उक्त हिंसात्मक घटनाबाट जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी पनि अछुतो रहन सकेन। कम्पनीको प्रशासनिक भवनमा तोडफोड गरिनुका साथै उत्पादन र प्रयोगशाला भवनमा आगो लगाइएर पूर्ण रूपमा नष्ट पारिएको थियो।
कम्पनी खेती, प्रशोधन, उत्पादन र बजारीकरणका काममा संलग्न रहेकाले, यो घटनापछि लगभग दुई महिना सबै गतिविधि ठप्प भएको थियो। खेती र प्रशोधनको काम शाखा कार्यालयले गरे पनि उत्पादन र बजार व्यवस्थापनको काम केन्द्रीय कार्यालयमार्फत हुने भएकाले ठूलो असर परेको हो।
यद्यपि, निराशाजनक अवस्थामा पनि कम्पनीले दुई महिनामै पुनः उत्पादन सुरु गरेको छ। रिजालका अनुसार, वन तथा वातावरण मन्त्रालयको सहजीकरण र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको सहयोगमा प्रशासनिक भवनमा सिसा जडान गरियो भने उत्पादन भवनमा कम क्षति पुगेको कोठा सफा गरी त्यहीँबाट अस्थायी रूपमा उत्पादन कार्य शुरू गरिएको छ ।
मेसिनहरू पूर्ण रूपमा जलेकोले हाल सबै उत्पादन कार्य कर्मचारीकै श्रममा आधारित छ, जसका कारण कम्पनी पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। अहिले जम्मा ५० देखि ६० प्रतिशत मात्र उत्पादन भइरहेको बुझिएको छ ।
तोडफोड तथा आगजनिका क्रममा करिब २८ लाख बराबरको सामान जलेर नष्ट भएको जडिवुटी स्रोतले जानकारी गराएको थियो ।