एभरेष्टमा ‘ओभरटुरिजम’को खतरा, अब नियमन नगरे गन्तव्य बिग्रन्छ

नेपालको पर्यटनको करिब ७०-७५ वर्षको यात्रालाई फर्केर हेर्दा, हामीले यसलाई विभिन्न चरणमा विकास भएको पाएका छौं। सन् १९५३ मा सगरमाथाको सफल आरोहणपछि सुरु भएको साहसिक पर्यटन र ६० को दशकमा ‘टाइगर टप्स’ जस्ता लज खुलेपछि सुरु भएको प्रकृति र संस्कृतिमा आधारित पर्यटन आज एक नयाँ मोडमा आइपुगेको छ। तर, यो यात्रामा हामीले सबैभन्दा ठूलो सफलता स्थानीय समुदायलाई जोडेर पर्यटनलाई दिगो बनाउनुमा हासिल गरेका छौं। अबको हाम्रो चुनौती भनेको यही सफलतालाई ‘ओभरटुरिजम’को खतराबाट जोगाउनु हो।

सुरुवाती दिनहरूमा पदयात्रा पर्यटन ‘क्याम्पिङ ट्रेक’मा आधारित थियो। हामीले पर्यटकका लागि टेन्ट, खानेकुरा र अन्य सबै बन्दोबस्तीका सामान काठमाडौंबाटै बोकेर लैजानुपर्थ्यो। यसले गर्दा पदमार्गमा पर्ने स्थानीय समुदायले पर्यटनबाट खासै कुनै आर्थिक लाभ पाउँदैनथे। उनीहरू पर्यटकले दिएको एउटा चकलेट वा सानो उपहारमा दंग परेर फोटो खिचाउन आउने अवस्था थियो।

तर, सन् २००० पछि हामीमा एउटा नयाँ अवधारणाको विकास भयो— जबसम्म हामीले स्थानीय समुदायलाई पर्यटनमा जोड्दैनौं, तबसम्म यो दिगो हुँदैन। स्थानीयको सहभागिता बिना त्यहाँको वातावरण, जंगल र संस्कृतिको संरक्षण सम्भव थिएन। यही सोचका साथ नेपालमा ‘लज ट्रेक’ वा ‘टि-हाउस ट्रेक’ को सुरुवात भयो, जुन पूर्ण रूपमा समुदायमा आधारित थियो। हामीले स्थानीयलाई भन्यौं, “तपाईंको घरको एउटा कोठा पर्यटकका लागि छुट्याउनुस्, चिया पकाएर बेच्न सुरु गर्नुस्।” यसले पर्यटनबाट हुने आम्दानी सिधै स्थानीयको हातमा पुर्‍यायो। बिस्तारै, स्थानीयहरू आफैं उद्यमी बन्न थाले र उनीहरूले पर्यटनको वास्तविक महत्त्व बुझे।

नेपालको मौलिकता: पहाडमा जीवन्त आदिवासी बस्ती
नेपालको पदयात्रा पर्यटन विश्वमै अद्वितीय छ, र यसको कारण अग्ला हिमाल मात्र होइन। नेपाल सायद विश्वको एकमात्र यस्तो देश हो, जहाँ ४,००० देखि ४,५०० मिटरको उचाइमा पनि हाम्रा आदिवासी जनजातिहरूको जीवन्त बस्ती छ। चाहे हामी लोमन्थाङको कुरा गरौं, डोल्पोको कुरा गरौं, वा कन्चनजंघा क्षेत्रको घुन्सा र मनास्लुको साम्दो-लार्केको कुरा गरौं, त्यहाँ मानिसहरू बस्छन्। यो मौलिकता तपाईंले दक्षिण अमेरिकाको पाटागोनिया वा एन्डिज पर्वतमालामा पाउनुहुन्न। यही जीवन्त समुदाय हाम्रो पदयात्रा पर्यटनको आत्मा हो, जसले यसलाई दिगो र जिम्मेवार बनाएको छ।

कोभिडपछिको अवसर र ‘ओभरटुरिजम’को बढ्दो खतरा
कोभिड महामारीपछि नेपाली पर्यटनमा एउटा नयाँ र सकारात्मक ट्रेन्ड देखियो— आन्तरिक पर्यटकहरूको उल्लेख्य वृद्धि। सहर छोडेर पदयात्रामा जाने लहर नै चल्यो, जसले गर्दा महामारीको संकटमा पनि हिमाली क्षेत्रका लजहरूमा व्यवसायको धेरै अभाव भएन। तर, यो वृद्धिसँगै एउटा ठूलो खतरा पनि जन्मिएको छ, त्यो हो ‘ओभरटुरिजम’ अर्थात् कुनै निश्चित ठाउँमा क्षमताभन्दा बढी पर्यटकको भीड।

अहिले डिजिटल युगका कारण सूचना सहजै पाइन्छ। कुन महिनामा मौसम राम्रो हुन्छ र कुन ठाउँ प्रख्यात छ भन्ने जानकारी सबैलाई छ। यसले गर्दा धेरैजसो पर्यटकको भीड एभरेष्ट र अन्नपूर्ण जस्ता केही निश्चित ‘ल्यान्डमार्क’ गन्तव्यमा, त्यो पनि वर्षको केही महिनामा मात्रै थुप्रिएको छ। यदि हामीले यो भीडलाई नीतिगत रूपमा नियमन गर्न सकेनौं भने, यसले हाम्रा अमूल्य सम्पदा र गन्तव्यलाई नै बिगार्ने निश्चित छ।

अबको बाटो: कोटा प्रणाली र वर्षैभरि पर्यटन
अब हामीले विश्वका सफल अभ्यासबाट सिक्नुपर्छ। उदाहरणका लागि, अमेरिकाको ग्रान्ड क्यानियनमा र्‍याफ्टिङ गर्न वर्षमा २०,००० जनाले मात्र अनुमति पाउँछन्, जसका लागि मानिसहरू ५ वर्ष अगाडिदेखि टिकट बुक गर्छन्। त्यसैगरी, पेरुको इन्का ट्रेलमा पदयात्राका लागि सरकारले ६ महिनाअघि नै कोटा तोकिदिएको हुन्छ।

यस्तो नियमनको उद्देश्य पर्यटकलाई रोक्नु होइन, बरु त्यो क्षेत्रलाई दिगो बनाउनु र पर्यटकीय अवसरलाई केही महिनामा मात्रै सीमित नगरी वर्षैभरि वितरण गर्नु हो। यदि हामीले पनि हाम्रा प्रमुख गन्तव्यमा यस्तै ‘पोलिसी गाइडेड’ नियमन र कोटा प्रणाली लागू गर्न सक्यौं भने, हामी पर्यटनलाई वर्षैभरि चलाउन सक्छौं र ‘ओभरटुरिजम’को खतराबाट हाम्रा सुन्दर गन्तव्यहरूलाई जोगाउन सक्छौं। यसो गर्न नसके हामीले दशकौं लगाएर बनाएको दिगो पर्यटनको आधार भत्किन बेर लाग्दैन।

–हुलाक सञ्चारको चौथो वार्षिकोत्सवमा आयोजित हुलाक पथ ‘नेपालमा पर्यटनः सम्भावनाहरुको नयाँ युग’ विषयको विचार विमर्शमा प्रस्तुत गरेको विचारको सम्पादित अंश

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१