नेपाली आप्रवासन र पारिवारिक संरचनामा आएको मनो–सामाजिक संकट

नेपाली समाजमा परिवारको केन्द्रमा भावनात्मक सम्बन्ध, आपसी समर्पण र सामाजिक कर्तव्यबोध बसिरहेको हुन्छ। तर पछिल्लो दशकहरूमा वैदेशिक आप्रवासनको लहरले यी सम्बन्ध र मूल्यहरूमा गहिरो असर पार्दै आएको छ। आर्थिक समृद्धिको सपना देखेर हजारौँ नेपालीहरू अमेरिका, युरोप, अष्ट्रेलियाजस्ता मुलुकतिर लागेका छन्। विदेशी भूमिमा रहँदा उनीहरूले सन्तानलाई राम्रो शिक्षा, सुविधा र भविष्य दिन जीवनभर संघर्ष गर्छन्। तर, त्यही संघर्षका फलस्वरूप हुर्केका सन्तानहरू पश्चिमी समाजको आत्मकेन्द्रित संस्कारमा ढालिँदा आफ्ना बाबुआमाको भावनात्मक मूल्य, त्याग र समर्पणलाई बिर्सिँदै जान्छन्। यही बिर्सनु अन्ततः सम्बन्ध विच्छेदन, सामाजिक बिचलन र वृद्ध अवस्थामा गहिरो एक्लोपनको पीडामा परिणत हुन्छ।

यो परिदृश्य केवल एक वा दुई व्यक्तिको कथा होइन; यो नेपाली आप्रवासी समाजमा मौलाउँदै गएको गम्भीर मनो-सामाजिक संकट हो। विदेशमा बस्ने नेपाली आमाबाबुका गुनासाहरू समान छन्—छोराछोरीले अब सरोकार राख्दैनन्, फोन गर्दैनन्, स्वास्थ्य र सुखदुःखको खबर बुझ्दैनन्। बाबुआमाको माया र आशाले बाँधिएको सम्बन्ध अमेरिकन वा युरोपियन ‘इन्डिभिजुअलिज्म’को प्रभावमा आएर चिसिँदै जान्छ। यो केवल परिवारको विखण्डन मात्र होइन, नेपाली समाजको नैतिक संरचनामा भएको क्षय हो, जसले भावी पुस्ता र सामाजिक सहकार्य दुवैलाई कमजोर बनाउँदै लगेको छ। यस्तो सन्दर्भमा, आत्मनिर्भरता र पारिवारिक सहाराबीचको सन्तुलन कायम राख्न चेतना, संवाद र संस्कारको पुनर्स्थापना अत्यावश्यक देखिन्छ।

वैदेशिक आप्रवासनले नेपाली पारिवारिक संरचनामा ठूलो परिवर्तन ल्याएको छ। परम्परागत रूपमा तीन पुस्ता एउटै छानोमुनी बस्ने चलन, सामाजिक सहयोग र भावनात्मक सहायतामा आधारित थियो। संयुक्त परिवारको यो स्वरूप आपसी माया, अनुशासन र सहकार्यको एउटा उदाहरण थियो। तर जब छोराछोरी उच्च शिक्षा, रोजगारी वा स्थायित्वको खोजीमा विदेश जान थाले, पारिवारिक सम्बन्धमा दूरी आउन थाल्यो। विदेश गएका सन्तान वा सँगै गएका बाबुआमाबीच पनि परायापन बढ्दै जान थालेको छ। एउटै घरमा रहे पनि सम्बन्ध आत्मीय नहुने, संवाद कम हुने र आपसी स्नेह क्षीण हुँदै जाने अवस्था देखिन्छ। यसले वृद्ध बाबुआमालाई न केवल शारीरिक रूपमा एक्लो बनाउँछ, भावनात्मक रूपमा पनि अवहेलित बनाउँछ, जसको दीर्घकालीन असर सामाजिक संरचनामा गहिरो खालको विखण्डनका रूपमा देखिन थालेको छ।

यस विखण्डनलाई थप गहिराइमा पुर्‍याउने कारण भनेको सांस्कृतिक मूल्यहरूको भिन्नता हो। पश्चिमी समाजमा १८ वर्ष पुगेपछि व्यक्ति स्वतन्त्र ठानिन्छ र आमाबाबुसँगको सम्बन्ध वैधानिक जिम्मेवारी होइन, व्यक्तिगत इच्छामा आधारित रहन्छ। यसलाई आत्मनिर्भरता र व्यक्तिवादको संज्ञा दिइन्छ। तर नेपाली समाजमा छोराछोरी सधैँ बाबुआमाको हिस्सा मानिन्छन्, जसले बुढेसकालसम्म सेवा र साथ दिने अपेक्षा राखिन्छ। यिनै दुई ध्रुवीय मान्यताबीच हुर्किएका आप्रवासी नेपाली सन्तान भावनात्मक रूपमा न त पूर्णतः नेपाली रहन्छन्, न त आत्मीय सम्बन्ध कायम राख्न सक्षम हुन्छन्। यो मनोवैज्ञानिक दूरी अन्ततः संवेदनहीन व्यवहार र पारिवारिक जिम्मेवारीबाट पन्छिने प्रवृत्तिमा परिणत हुन्छ, जसले नेपाली आप्रवासी समुदायभित्र गहिरो चिन्ताको विषय बनेको छ।

नेपाली आप्रवासी अभिभावकहरूको सपना सधैं आफ्ना सन्तानका लागि उज्यालो भविष्य बनाउनेमा केन्द्रित हुन्छ। उनीहरूले भौतिक कठिनाइ, सामाजिक दुरी र सांस्कृतिक अनिश्चितता झेलेर पनि सन्तानलाई गुणस्तरीय शिक्षा, सुरक्षित जीवन र आत्मनिर्भरता दिलाउने लक्ष्य लिन्छन्। तर जब ती सन्तानबाट बृद्धावस्थामा माया, सहानुभूति र हेरचाह पाउने आशा अपूर्ण रहन्छ, तब त्यो सपना जीवनकै रिक्तता बन्न पुग्छ। यस्तो अवस्था केवल भावनात्मक पीडाको कथा होइन, यो आधुनिक आप्रवासी जीवनशैली र पारिवारिक मूल्यबीचको द्वन्द्वको घोत्लिएको परिणाम हो, जसले बाबुआमालाई आफ्नै जीवनको अर्थप्रति प्रश्न गर्न बाध्य बनाउँछ।

बाबुआमाले सन्तानको पालनपोषणमा दिएको समर्पण अमूल्य हुन्छ। अमेरिकाजस्तो मुलुकमा जहाँ बालबालिकाको हेरचाहदेखि शिक्षासम्म अत्यधिक खर्चिलो हुन्छ, त्यहाँ एक जनाको कमाइमा परिवार पाल्नु कठिन छ। धेरै अभिभावकले हप्तामा ८०–९० घण्टा काम गरेर बालबालिकाको आवश्यकतामा कुनै कमी हुन नदिई हुर्काउँछन्। तर जब यिनै सन्तानले सानो कुरामा पनि संवेदना नदेखाउने, नियमित सम्पर्क राख्ने चेष्टा नगर्ने र वृद्ध बाबुआमालाई भावनात्मक रुपमा त्याग्ने व्यवहार देखाउँछन्, तब अभिभावकको त्यो दीर्घकालीन लगानी खरानीमा परिणत हुन्छ। यथार्थमा, यस्तो भावनात्मक चोटले न केवल पारिवारिक सम्बन्ध भत्किन्छ, बरु समाजमा वृद्धको हैसियत र जीवनको मूल्यप्रति नै प्रश्न उठाउँछ।

अमेरिकाजस्ता विकसित मुलुकमा बसोबास गर्ने नेपाली आप्रवासीहरू आर्थिक रूपमा सम्पन्न देखिए पनि पारिवारिक सम्बन्धको दृष्टिले उनीहरूको जीवन भावनात्मक दरिद्रताले ग्रसित देखिन्छ। उपभोक्तामुखी संस्कृति, व्यक्तिगत स्वतन्त्रता र समयको तीव्र गतिमा अघि बढ्ने जीवनशैलीले गर्दा अभिभावक र सन्तानबीचको आत्मीय सम्बन्धमा चिसोपन देखिन थालेको छ। नेपाली अभिभावकहरू बिहानदेखि रातसम्म सन्तानका लागि काममा व्यस्त रहँदा, सन्तान भने पढाइ र सामाजिक घेरामा तल्लीन हुन्छन्। यस्तो व्यस्तताले पारिवारिक संवाद, आत्मीयता र पारस्परिक समझदारीलाई क्रमशः विस्थापित गर्दै लग्छ। आर्थिक उन्नति प्राप्त गर्नका लागि अपनाइने जीवनशैलीले सम्बन्धमा कटौती गर्दै जाने हो भने, त्यस्तो समृद्धि केवल बाह्य देखावटी मात्र रहन्छ, जसको मूलमा गहिरो एक्लोपन र मानसिक खोखोपन लुकेको हुन्छ।

विदेशी शिक्षाले नेपाली सन्तानहरूलाई सीपमूलक, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्य बोकेको भए पनि, यसले पारिवारिक सम्बन्ध, सामाजिक उत्तरदायित्व र संस्कारप्रतिको संवेदनशीलतालाई कम गर्दै लगेको देखिन्छ। आत्मकेन्द्रित सोच, व्यक्तिवाद र ‘म मेरो जीवन जिउँछु’ भन्ने विचारले गर्दा उनीहरू आफ्नो अभिभावकप्रति जिम्मेवारी महसुस गर्नै छाड्छन्। बाबुआमाले सानैदेखि आत्मीयता, माया र समर्पणका साथ सन्तानमा जसरी संस्कार रोप्ने प्रयास गर्छन्, ती नै संस्कारहरू विदेशी सामाजिक वातावरणमा पुगेर विस्मृत हुन थाल्छन्। शिक्षा केवल ज्ञान र दक्षताको विकासका लागि मात्र नभई मानवता, उत्तरदायित्व र सम्बन्धप्रतिको संवेदनशीलता पनि विकसित गर्ने माध्यम हुनुपर्छ। तर, आजको प्रवृत्तिले ज्ञानसँगै भावनात्मक असंवेदनशीलता बढाइरहेको छ, जसले भावी पुस्ताको सामाजिक संरचना कमजोर पार्न सक्छ।

नेपालमा पछिल्ला दशकहरूमा वैदेशिक आप्रवासन तीव्र गतिमा बढेसँगै यसको सामाजिक प्रभाव पनि गहिरिँदै गएको छ। पारिवारिक सन्तुलन बिग्रिँदा वृद्धहरू एक्लोपन, उपेक्षा र भावनात्मक शून्यताको अवस्था भोग्न बाध्य छन्। विगतमा छोराछोरी वृद्ध बाबुआमाका सहारा हुने परम्परा थियो, तर अहिलेको परिप्रेक्ष्यमा त्यो अपेक्षा टुट्दै गएको छ। विदेशमा रहेका सन्तान व्यस्तता वा सांस्कृतिक विचलनका कारण बाबुआमासँग नियमित सम्पर्क राख्न सक्दैनन्, जसले गर्दा वृद्धहरूलाई घरमै उपेक्षित बनाइदिएको छ। यसको परिणामस्वरूप नेपालमा वृद्धाश्रमहरूको संख्या र आवश्यकता बढ्दै गएको देखिन्छ, जुन परम्परागत पारिवारिक संरचनाका लागि गम्भीर संकेत हो।

पारिवारिक विखण्डनको दीर्घकालीन असर केवल एक पुस्तामा सीमित हुँदैन, यो पुस्तादरपुस्ता फैलिने सामाजिक चक्र बनिन्छ। बाबुआमाले बाल्यकालमा जुन माया, सुरक्षा र समर्पण दिएका थिए, त्यही कुरालाई सन्तानले बिर्सनु एउटा खतरनाक प्रवृत्ति हो। यस्तो व्यवहारले पारिवारिक मूल्यहरू र सामाजिक उत्तरदायित्वको भावना क्रमशः कमजोर बनाउँछ। जब सन्तानले आफ्ना अभिभावकप्रति बेवास्ता गर्छन्, उनीहरू आफैंले पनि भविष्यमा आफ्ना सन्तानबाट त्यही व्यवहार भोग्न सक्छन्—यही चक्रले सामाजिक संवेदनहीनता र सम्बन्धविहीनता फैलाउने खतरा बढाउँछ। भावनात्मक र नैतिक शिक्षाको अभावमा विकसित आत्मकेन्द्रित प्रवृत्तिले केवल सम्बन्ध मात्र होइन, समाजको नैतिक जग पनि हल्लाइरहेको छ।

वृद्धावस्थामा शारीरिक कमजोरीसँगै भावनात्मक समर्थनको आवश्यकता झनै बढ्छ। पैसाले औषधि किन्न सकिन्छ, घर किन्न सकिन्छ, तर प्रेम, माया र साथ किन्न सकिँदैन। विशेषतः विदेशमा रहेका वृद्ध नेपाली अभिभावकहरूका लागि यो आवश्यकता अझै प्रस्ट रूपमा देखिन्छ, जहाँ सामाजिक सम्बन्ध सीमित छन् र सन्तान भावनात्मक रूपले टाढिएका छन्। विदेशको व्यस्त जीवनशैली, व्यक्तिवादी सोच र डिजिटल संवादको एकांगीपनले अभिभावकलाई एक्लोपन र निराशाको गर्तमा पुर्‍याएको छ। जब स्वास्थ्य कमजोर बन्छ, तब जीवनमा आशाको दीया निभ्दै जान्छ—र त्यही बेला अभाव हुन्छ आत्मीय साथ र सहानुभूतिपूर्ण संवादको। यो अवस्था केवल पारिवारिक दुर्बलता होइन, आधुनिक समाजमा वृद्धजनप्रति भइरहेको संवेदनहीन व्यवहारको स्पष्ट संकेत हो, जसलाई बेवास्ता गर्दा समग्र सामाजिक सन्तुलनमा गम्भीर असर पर्न सक्छ।

परिवारको विखण्डन र वृद्ध अभिभावकको एक्लोपनजस्ता समस्याहरू समाधान गर्नका लागि पहिलो र सर्वाधिक प्रभावकारी उपाय हो—खुला र आत्मीय संवादको अभ्यास। अभिभावक र सन्तानबीच यथार्थमा आधारित संवाद, परस्पर अपेक्षा र जिम्मेवारीको स्पष्टता, र भावना आदानप्रदान गर्ने संस्कारको पुनर्स्थापना आवश्यक छ। नेपाली समाजमा अभिव्यक्तिको कमी, भावनात्मक विषयलाई दबाउने प्रवृत्ति र पीढीगत सोचको अन्तरले सम्बन्ध बिग्रँदै गएको छ। त्यसैले, बच्चा सानो छँदादेखि नै उसलाई केवल पढ्न र कमाउन मात्र होइन, मानवीय सम्बन्ध, संवेदनशीलता र पारिवारिक कर्तव्यबोधबारे सिकाउनु अत्यन्त आवश्यक छ। बुढेसकालप्रति सम्मान र सेवा संस्कार आजका पुस्ताले बुझ्न सके मात्र भावनात्मक दुरी कम गर्न सकिन्छ।

यति मात्र पर्याप्त छैन, राज्यको तहबाट पनि हस्तक्षेप र समर्थन आवश्यक छ। वैदेशिक आप्रवासनको सामाजिक प्रभाव हेर्दा यसले पारिवारिक संरचना मात्र होइन, सामाजिक स्थायित्व र वृद्धजनको जीवनमाथि समेत गहिरो असर पारिरहेको छ। नेपाल सरकारले विदेशमा रहेका वृद्ध नागरिकहरूको लागि ‘कम्युनिटी हाउस’, ‘मानसिक परामर्श केन्द्र’ र ‘समाजिक सहायता कार्यक्रम’ सञ्चालन गर्नु अत्यावश्यक भएको देखिन्छ। त्यस्तै, आप्रवासी परिवारहरूलाई अभिमुखीकरण कार्यक्रममार्फत भावनात्मक सम्बन्ध, आपसी जिम्मेवारी र सामाजिक मूल्यका विषयमा चेतना दिन सकिनेछ। यदि नीतिगत तहबाट यस्तो दीर्घकालीन सोच र योजना अपनाइएन भने, वैदेशिक आम्दानीले देशको अर्थतन्त्र त चल्ला, तर समाजको अन्तस्करण बिस्तारै शिथिल हुँदै जानेछ।

समाजको स्थायित्व र सभ्यताको निरन्तरताका लागि पुस्ता–दर–पुस्ताबीचको सम्बन्ध सुदृढ हुनु अत्यावश्यक हुन्छ। तर आजको आप्रवासी सन्दर्भमा यो सम्बन्ध कमजोर बन्दै गएको छ, विशेषतः सन्तानले आफ्ना अभिभावकप्रतिको दायित्व भुल्न थालेपछि। वैदेशिक व्यस्तता र भौगोलिक दूरीका नाममा बाआमाको सेवा, साथ र संवेदनाको पाटोलाई बेवास्ता गर्नु केवल व्यक्तिगत त्रुटि होइन, गहिरो नैतिक पतन हो। अबको पुस्ताले आत्मचिन्तन गर्नुपर्ने समय आएको छ—हाम्रा अभिभावकले दिएको माया, त्याग र समर्पणको मूल्यांकन गर्दै, आफ्ना व्यवहार र जिम्मेवारीबारे पुनर्विचार गर्नुपर्ने अवस्था हो। आत्मनिर्भर बन्नु गलत होइन, तर आत्मकेन्द्रित भएर सम्बन्ध भत्काउनु भने नितान्त अमानवीय र सामाजिक पतनको संकेत हो।

वैदेशिक सपनाको मूल्य केवल डलर, सुविधा र आधुनिकताको प्राप्तिमा मात्र सीमित नभई हाम्रो पारिवारिक आत्मीयता, सामाजिक संस्कार र सांस्कृतिक अस्तित्वको पनि हो। जब एक सन्तानले बाबुआमाको आशा, भरोसा र अपेक्षालाई भत्काउँछ, तब त्यो केवल एक सम्बन्धको अन्त्य होइन, हाम्रो समग्र सभ्यताको क्षय पनि हो। त्यसैले अहिलेको आवश्यकता व्यक्तिगत आत्मसमीक्षा, सम्बन्धमा पुनर्जीवन ल्याउने पहल, र पुस्ताबीचको भावनात्मक सेतु निर्माण गर्नु हो। यदि समयमै सचेत नभइयो भने, आर्थिक सम्पन्नता हुँदा हुँदै पनि सामाजिक र मानवीय रूपले हामी पूर्ण दरिद्र बन्न सक्छौं। आधुनिकताको नाममा सम्बन्ध त्याग्ने होइन, आधुनिकताको माध्यमबाट सम्बन्धलाई अझ सशक्त बनाउने मार्ग रोज्नु आजको यथार्थ चेतना हुनुपर्छ।

– लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१