शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई मन्त्रालयभित्रै खाने तथा बस्ने व्यवस्था मिलाइएको छ । मन्त्री पुनले मन्त्रालयमै बस्ने इच्छा प्रकट गरेपछि उनलाई आजदेखि मन्त्रालयभित्रै एउटा छुट्टै कोठासँगै खाने, बस्ने व्यवस्था गरिएको हो ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार मन्त्री पुनलाई कार्यकक्ष छेउकै कोठा खाली गरेर सुत्ने र भान्साको प्रबन्ध मिलाइएको छ।
सोमबार शपथ ग्रहण गरेर मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले आफू २४सै घण्टा काम गर्ने भन्दै आफ्नो गाँस, बासको व्यवस्था पनि मन्त्रालयभित्रै गर्न अनुरोध गरेका थिए ।
“म जता गए पनि जहाँ काम गर्छु त्यहीं बास बस्ने बानी छ । राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा पनि त्यहीं बस्थें । म विरगन्ज गए पनि जहाँ काम गर्यो त्यहीं बस्ने हो । मलाई एउटा सुत्ने खाट चाहियो । टेबुल कुर्ची चाहियो । किचन चाहियो । म आफैं पकाएर खान्छु,” मन्त्री पुनले भनेका थिए ।
मन्त्री पुनको सोही आग्रह अनुरुप मन्त्रालयमै सोको प्रबन्ध मिलाइएको हो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते शिक्षा मन्त्रालयको भवनमा आजनी भएको छ । यसले गर्दा मन्त्रालय हाल लैजचौरस्थित केसर महलमा सारिएको छ ।