नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीहरू अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चूडामणि चापागाईँको राजीनामा माग गर्दै आन्दोलित भएका छन् । अध्यक्ष बस्याल र सिइओ चापागाईँले बिचौलियाहरूका लागि काम गरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
बुधबारदेखि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अध्यक्ष र सिइओको कार्यकक्षमा तालाबन्दी गरेका छन् भने हातमा कालोपट्टि बाँधेर काम गरेका छन् । कर्मचारीहरूले बस्याल नेतृत्वले नेप्से सुधारभन्दा पनि बिचौलियालाई लाभ हुने काम गरेको भन्दै आन्दोलनमा उत्रिनु परेको बताएका छन् । नेप्सेको संस्थागत सुशासन बचाउन बस्याल र चापागाईँले राजीनामा दिनुपर्ने कर्मचारीहरूको भनाई छ ।
निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले गएको गत भदौ २० गते नेप्सेको अध्यक्षमा बस्याल तथा सिइओमा चापागाईँलाई नियुक्त गरेका थिए । स्वार्थ बाझिने गरी नियुक्ति दिलाइएको भन्दै पौडेलको निर्णयको त्यस बेला समेत व्यापक विरोध भएको थियो ।