काठमाडौं। निर्वाचन आयोगले अबदेखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। आयोगले बिहीबारदेखि औपचारिक रूपमा यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार बुधबार प्राविधिक तयारी र प्रणाली परीक्षण सम्पन्न गरी बिहीबारदेखि परिचयपत्र प्रणालीसँग समायोजन गरिएको हो।
यस व्यवस्थाले राष्ट्रिय परिचयपत्र नम्बर भएका र स्वयं निर्वाचन कार्यालयमा पुग्न नसक्ने मतदातालाई सहज बनाउने अपेक्षा आयोगले गरेको छ।
आयोगका अनुसार यही ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ। दर्ता अवधि सकिँदै जाँदा नयाँ मतदाताको संख्या पनि तीव्र गतिमा बढ्दै गएको आयोगले जनाएको छ।
राष्ट्रिय परिचयपत्रको आधारमा नाम दर्ता गर्न सकिने भएपछि अबका दिनहरूमा दर्ता अभियान अझ तीव्र हुने आयोगका अधिकारीहरूको भनाइ छ।
यसअघि बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन्। छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारी र अन्य अधिकारीहरूसँगै राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे पनि सहभागी थिए।
घिमिरेले राष्ट्रिय परिचयपत्रका लागि संकलित जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन विभाग तयार रहेको बताएका थिए।
राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्छ ।