• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

उस्मान हादी र दिपु चन्द्र दास हत्या प्रकरण: भारत र बङ्गलादेश फेरि आमनेसामने

बङ्गलादेशमा भएका दुई छुट्टाछुट्टै हत्याका घटनालाई लिएर भारत र बङ्गलादेशबीचको कूटनीतिक तनाव फेरि चुलिएको छ। विशेषगरी हिन्दू युवक दिपु चन्द्र दास र छात्र नेता उस्मान हादीको हत्या प्रकरणमा दुवै देशका विदेश मन्त्रालय र सुरक्षा निकायहरू आरोप-प्रत्यारोपमा उत्रिएका छन्।

गत साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बङ्गलादेशको मैमनसिंहमा दिपु चन्द्र दासको हत्याको कडा निन्दा गरेका थिए। भारतले बङ्गलादेशमा हिन्दू, क्रिश्चियन र बौद्धलगायत अल्पसंख्यकहरूको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको थियो। जायसवालले अन्तरिम सरकारको कार्यकालमा अल्पसंख्यकहरूविरुद्ध २,९०० भन्दा बढी हिंसाका घटनाहरू भएको दाबी समेत गरेका थिए।

आइतबार बङ्गलादेशको विदेश मन्त्रालयले भारतको बयानलाई खारेज गर्दै यसलाई ‘लक्षित बयान’को संज्ञा दिएको छ। बङ्गलादेशका विदेश मन्त्रालयका प्रवक्ता एसएम महबूबुल आलमले भारतको भनाइले वास्तविक अवस्था नदर्साउने बताए।

उनले दाबी गरे, ‘भारतले जसको (दिपु चन्द्र दास) उदाहरण दिएको छ, उनी एक ‘सूचीकृत अपराधी’ थिए। आफ्नो मुस्लिम साथीसँग पैसा असुलीको विषयमा विवाद हुँदा उनको मृत्यु भएको हो, जसलाई पछि पक्राउ गरिएको छ। यस घटनालाई अल्पसंख्यकमाथि हुने व्यवहारको रूपमा प्रस्तुत गर्नु भ्रामक छ।’

बङ्गलादेशले उल्टै भारतमा अल्पसंख्यकहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ। प्रवक्ता आलमले भने, ‘भारतमा क्रिसमसको समयमा क्रिश्चियन र अन्य समयमा मुस्लिमलगायत अल्पसंख्यकहरूविरुद्ध भइरहेका हत्या, लिन्चिङ र धार्मिक कार्यमा अवरोधप्रति हामी चिन्तित छौँ।’

अर्कोतर्फ, बङ्गलादेशमा २०२४ को आन्दोलनका चर्चित युवा नेता तथा ‘इन्कलाब मञ्च’का संयोजक उस्मान हादीको हत्याले पनि तनाव बढाएको छ।

ढाका महानगरीय प्रहरीले आइतबार दाबी गरेअनुसार, हादीको हत्याका मुख्य अभियुक्तहरू फैसल करीम मसुद र आलमगीर शेख मैमनसिंहको सिमाना हुँदै भारतको मेघालयतर्फ भागेका छन्।

भारतीय सुरक्षा एजेन्सीहरूले भने बङ्गलादेश प्रहरीको यो दाबीलाई अस्वीकार गरेका छन्। भारतीय सीमा सुरक्षा बल मेघालयका महानिरीक्षक ओपी उपाध्यायले ढाका प्रहरीको दाबीलाई ‘भ्रामक र गलत’ भन्दै पूर्ण रूपमा खण्डन गरेका छन्।

स्मरण रहोस्, हालै बङ्गलादेशको मैमनसिंह जिल्लाको भालुकामा ‘धर्मको अपमान’ गरेको आरोपमा भीडले दिपु चन्द्र दासलाई कुटपिट गरी हत्या गरेर शव जलाएको थियो। बङ्गलादेशका मुख्य सल्लाहकार मोहम्मद युनुसले उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

यद्यपि, यी घटनाहरू र त्यसपछिका कूटनीतिक बयानबाजीले दुई छिमेकी मुलुकबीचको सम्बन्धमा तिक्तता बढाएको छ।

यो पनि पढ्नुहोस् ।

बङ्गलादेश प्रहरीले भन्यो– विद्यार्थी नेताका हत्याराहरू भारत भागे

बंगलादेशमा हिन्दू युवकको निर्मम हत्या: कुटपिटपछि रुखमा बाँधेर जलाइयो

बंगलादेशमा फेरि अशान्ति: आन्दोलनका नायक हादीको हत्यापछि ढाकामा हिंसात्मक प्रदर्शन