• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एनसेलको २५० नयाँ टावर जडान, २२०० साइटको क्षमता अभिवृद्धि

काठमाडौँ । एनसेलले वर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारका लागि नयाँ टावरहरू थप गरिएको एनसेलले जनाएको हो ।

यसबाहेक, २ हजार २ सय वटा टावरहरूको क्षमता अभिवृद्धि गरिएको एनसेलले उल्लेख गरेको छ । यसबाट ग्राहकहरूले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् ।

विश्वसनीय कनेक्टिभिटी सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनहरूसँग सधैँ सम्पर्कमा रहन लागि अत्यावश्यक बन्दै गएको बेला एनसेलले फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरेको हो । सातै प्रदेशका विभिन्न स्थानीय तहहरूमा नयाँ टावरहरू स्थापना गरी सञ्चालनमा ल्याइएका छन् भने विषेशगरी मधेस, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको थियो ।

प्रदेशगत रूपमा, एनसेलले कर्णाली प्रदेशका दैलेखको सभापोखरी, रुकुम पश्चिमको पुर्तिमकाँडा र सल्यानको बागचौर लगायतका स्थानीय तहहरूमा टावर स्थापना गर्दै फोरजी सेवा उपलब्ध गराएको छ । सुदूरपश्चिम प्रदेशका डोटीको लडागडा, कैलालीको बनजरिया र कञ्चनपुरको सरस्वती टोललगायत अन्य ठाउँहरूमा पनि टावरहरू स्थापना गरिएका छन् । यसैगरी, मधेस प्रदेशका सिराहाको हनुमाननगर, सप्तरीको भिमपुर र धनुषाको मुसहरनिया लगायत दर्जनौँ स्थानहरूमा नयाँ टावर सञ्चालनमा आएपछि स्थानीयहरू उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्याण्ड सेवाबाट लाभान्वित भएका छन् ।

“अहिले त घरभित्रै पनि धेरै राम्रो नेट टिप्छ । पहिला भन्दा धेरै नै राम्रो भयो,” जनकपुर उपमहानगरपालिका वडा नं. १७, मनहरपुरकी अनिशा मण्डलले भनिन् । बिबिए अध्ययनरत उनी नयाँ टावरहरूको सञ्चालनबाट लाभ लिने देशभरका हजारौँ ग्राहकहरू मध्ये एक हुन् । “मलाई पढ्नलाई पनि मोबाइल र नेटको धेरै आवश्यकता हुन्छ । कलेजको नोटिसहरू अनलाइनमा हेर्न, नोटहरू एक्सचेन्ज गर्न, नबुझेको कुरा युट्युब, च्याटजीपीटीमा सिक्न नेट नभई हुन्न । फेरी दाइहरू विदेशमा हुनुहुन्छ उहाँहरूसँग पनि रेगुलर कुरा गर्नपर्छ ।”

कुल २५० वटा टावरमध्ये १९७ वटा टावरहरू पछिल्लो साढे २ महिनामा स्थापना गरिएका हुन् भने, स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै कम्पनीले नयाँ टावर स्थापनाको कामलाई तीव्र रूपमा अगाडि बढाएको थियो ।

“देशभर थपिएका हाम्रा यी नयाँ टावरहरू र क्षमता अभिवृद्धि गरिएका साइटहरूले सम्बन्धित प्रदेशका स्थानीय तह र ठाउँहरूमा ग्राहकहरूलाई मोबाइल ब्रोडब्याण्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ । यसले फोरजी कनेक्टिभिटीको महत्वलाई अझ बढाएको छ,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने । “यो नेटवर्क सुधार र विस्तार अझै राम्रो कनेक्टिभिटीमा पहुँच सुनिश्चित गराउने कदम हो जसले आधारभूत सञ्चार, व्यवसाय, अध्ययन र हामीमाथि भरोसा गरेर सधैँ सम्पर्कमा रहन चाहने हरेक ग्राहकहरूलाई ठुलो महत्त्व राख्दछ । गुणस्तरीय सेवा र उच्च गतिको डेटा केवल गति मात्रको कुरा होइन, यो भरोसा, अवसर र डिजिटल दुनियाँमा पहुँचको विषय हो ।”

नयाँ टावरहरूको सङ्ख्याका दृष्टिले मधेस प्रदेशमा १०० भन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन्, त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशी प्रदेशमा ३५ भन्दा बढी टावरहरू स्थापना भएका छन् । यसैगरी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावरहरू स्थापना गरिएका छन् । नयाँ उपकरणको आयातमा प्रतिबन्ध लागेका बेलामा पनि, एनसेलले आफ्नो फोरजी सुधार र विस्तार कार्य जारी राख्दै स्टक र स्पेयर उपकरणको प्रयोग गरी ५३ वटा नयाँ टावर स्थापना गरेको थियो ।

यस विस्तारले देशव्यापी रूपमा ग्राहकहरूको लागि फोरजी नेटवर्क पहुँच अझ सुदृढ बनाउने छ र सेवाको गुणस्तरमा थप सुधार हुनेछ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसङ्ख्याको ९५ प्रतिशत भन्दा बढी जनतामाझ यो सेवा पुगेको छ ।