काठमाडौँ । एलन मस्कको टेस्लालाई उछिन्दै चीनको बिवाइडी विश्वको सबैभन्दा धेरै बिक्री हुने विद्युतीय कार बनेको छ। बिबिसीले जनाए अनुसार सन् २०२५ मा बिवाइडी अमेरिकी प्रतिद्वन्द्वीलाई उछिन्दै पहिलो पटक विश्वको सबैभन्दा ठुलो विद्युतीय बिक्रेता बनेको हो ।
टेस्लाका अनुसार २०२५ मा विश्वभर उसका १६ लाख ४० हजार सवारी साधन बिक्री भएको छ । यो गत वर्षको तुलनामा ९ प्रतिशतले कम हो ।
उता, सन् २०२५ मा विश्वभर बिवाइडीका २२ लाख ५० हजार गाडी विक्री भएका छन् । सन् २०२४ को दाँजोमा सन् २०२५ मा बिवाइडीका गाडी बिक्री २८ प्रतिशतले बढेको हो ।
टेस्लाका लागि सन् २०२५ निकै चुनौतीपूर्ण वर्ष रह्यो । यसको प्रमुख कारणहरूमा उसका नयाँ कारहरू बारेका मिश्रित प्रतिक्रिया, मस्कको राजनीतिक गतिविधिहरू तथा त्यसको विरोध र चिनियाँ प्रतिद्वन्द्वीहरूबाट बढ्दो चुनौतीलाई मानिन्छ ।
२०२५ को अन्तिम त्रैमासमा टेस्लाको कार बिक्री १६ प्रतिशतले घट्यो। यो गिरावटको एक प्रमुख कारणका रूपमा अमेरिकी सरकारी अनुदानको कटौतीलाई मानिएको छ ।
विश्लेषकहरूले सन् २०२६ मा टेस्लाको बिक्री अझै घट्ने पूर्वानुमान गरेका छन् ।
उता, बिवाइडी कारकहरूको मूल्य भने प्रतिद्वन्द्वी कार निर्माताहरू भन्दा कम छन् । यसले गर्दा विशेष गरी ल्याटिन अमेरिका, दक्षिणपूर्व एसिया र युरोपका केही देशहरूमा बिवाइडीको व्यापार आक्रामक रूपमा बढिरहेको छ ।
गत अक्टोबरमा चीनपछि बेलायत बिवाइडीको सबैभन्दा ठुलो बजार बनेको थियो । कम्पनीका अनुसार सेप्टेम्बरको अन्त्यसम्ममा बेलायतमा बिवाइडीको बिक्री ८८० प्रतिशतले बढेको छ ।
यी सबै कुराहरूले बिवाइडीले विश्व व्यापारमा टेस्लालाई उछिनेको हो ।