• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बीमा सम्बन्धी सबै भुक्तानी अब विद्युतीय प्रणालीबाट

काठमाडौँ । बीमा सम्बन्धी सबै भुक्तानी अब विद्युतीय प्रणालीबाट हुने भएको छ । नेपाल बीमा प्राधिकरणले माघ १ गतेदेखि अनिवार्य रूपमा सबै किसिमका भुक्तानीहरू विद्युतीय माध्यमबाट गर्न बीमा कम्पनीहरूलाई बुधबार निर्देशन जारी गरेको हो ।

प्राधिकरणको निर्देशनसँगै अब जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी तथा बीमा एजेण्टहरूले सम्पूर्ण भुक्तानी सम्बन्धित बैंक वा वित्तीय संस्थाको खातामा विद्युतीय प्रणालीमार्फत मात्र गर्नुपर्नेछ ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन, २०८२ ले बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा शर्त तथा प्रचलित कानूनको पालना गर्दै भुक्तानी पाउने व्यक्तिको बैंक खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।यस्तै, नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै भुक्तानी बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्ने नीति कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले यो एकीकृत निर्देशन जारी गरेको हो।

यसअघि पनि प्राधिकरणले बीमा कम्पनीहरूका सबै प्रकारका कर्मचारी तथा श्रमिकलाई दिइने तलब, पारिश्रमिक वा ज्याला अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत सम्बन्धित व्यक्तिको खातामा भुक्तानी गर्न निर्देशन दिएको थियो ।