काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनमा ८ खर्ब ७० अर्ब रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउदेखि मंसिरसम्म ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष रेमिटेन्स आप्रवाह ३५.६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा रेमिटेन्स आप्रवाह केवल ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार मंसिर महिनामा पनि मुलुक भित्रिने रेमिटेन्स बढेको छ । गएको मसिरमा १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । गत वर्षको मंसिरको दाँजोमा यो मंसिरमा ६४ अर्ब रुपैयाँ बढी रेमिटेन्स भित्रिएको हो । गत आर्थिक वर्षको मंसिरमा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।
अमेरिकी डलरमा समेत रेमिटेन्स आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो वृद्धि दर ३.४ प्रतिशत मात्रै थियो । यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ थियो ।
तथ्यांकले यस अवधिमा वैदेशिक रोजगारीमा जाने युवाहरु भने घटेको देखाएको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ छ । यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ छ ।
गत आर्थिक वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ थियो ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटे पनि रेमिटेन्स आप्रवाहमा भने उच्च वृद्धि देखिएको हो । डलरको भाउ बढेका कारण रेमिटेन्स आप्रवाह समेत बढेको हो ।
रेमिटेन्सको यो वृद्धिले अर्थतत्रन्त्रको बाह्य क्षेत्र मजबुत अवस्थामा पुगेको छ।