• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अर्थतन्त्रको ५ महिना: महँगी १.५५% मा सीमित, बाह्य सूचक मजबुत

काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा उपभोक्ता मूल्यवृद्धि दर १.५५ प्रतिशतमा सीमित देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मासिक प्रतिवेदनले अघिल्लो वर्षको दाँजोमा यो वर्षको गत साउनदेखि मंसिरसम्ममा महँगी पूर्ण रुपमा नियन्त्रणमा रहेको देखाएको हो ।

गत आर्थिक वर्षको पहिलो ५ महिनामा औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो । यो वर्षको सोही अवधिमा मूल्यवृद्धि ३.३४ प्रतिशतले घटेको हो ।

गत मंसिरमा मूल्यवृद्धि दर १.६३ प्रतिशतमा कायम छ । गत आर्थिक वर्षको मंसिरमा यस्तो दर ६.०५ प्रतिशत थियो ।

यस अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको देखिएको छ । राष्ट्र बैंकका अनुसार ५ महिनाको चालु खाता, शोधनान्तर स्थिति तथा विदेशी विनिमय सञ्चितिका सबै सूचक सकारात्मक छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले मात्रै बचतमा थियो । अमेरिकी डलरमा चालु खाता बचत २ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता बचत १ अर्ब १८ करोड थियो ।

यस अवधिमा शोधनान्तर स्थिति पनि उल्लेखनीय रूपमा मजबुत बनेको छ । मंसिरसम्म शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर बचत २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँमा सीमित थियो । अमेरिकी डलरमा शोधनान्तर बचत २ अर्ब ९८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । शोधनान्तर बचतमा रहँदा विदेशी मुद्रा सञ्चितिमा समेत सकारात्मक प्रभाव परेको छ ।

विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा १९।६ प्रतिशतले वृद्धि भई ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १३।५ प्रतिशतले अर्थात् १९ अर्ब ५० करोडबाट बढेर २२ अर्ब १३ करोड पुगेको छ ।

विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात तथा १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको विश्लेषण छ ।