• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

माछापुच्छ्रे बैंक र WeChat Pay सञ्चालनकर्ता Tenpay बीच प्रत्यक्ष साझेदारी

काठमाडौं । नेपालमा भित्रिने चिनियाँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले WeChat Pay सञ्चालनकर्ता Tenpay Payment Technology Co. Ltd. सँग प्रत्यक्ष साझेदारी गरेको छ । Tenpay Payment Technology Co. Ltd. चीनको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो, जसले WeChat Pay (Weixin Pay) सञ्चालन गर्दै आएको छ ।

सम्झौतापश्चात माछापुच्छ्रे बैंकले WeChat Pay मार्फत अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्नेछ। यस अन्तर्गत नेपाल आएका चिनियाँ पर्यटकहरूले चिनियाँ मुद्रा CNY प्रयोग गरी सहज रूपमा भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँ (NPR) मा रकम प्राप्त गर्नेछन् ।

बैंकका अनुसार यस व्यवस्थाबाट चिनियाँ पर्यटकले नेपालमा प्रत्यक्ष डिजिटल कारोबार गर्न सक्ने भएकाले पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सुरक्षित र सहज डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्ने अपेक्षा गरिएको छ । यसले नगदमा निर्भरता घटाउँदै आधुनिक भुक्तानी संस्कृतिको विकासमा सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

साथै, उक्त साझेदारीले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंक का विभिन्न रणनीतिक पहलहरूमा टेवा पुर्‍याउने बैंकको विश्वास छ । वित्तीय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्रको प्रवर्द्धन तथा भुक्तानी पूर्वाधारको आधुनिकीकरणमा समेत यस सम्झौताले उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।