काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदा र कर्जा माग अपेक्षाकृत कमजोर देखिएको कारण पछिल्ला केही महिनादेखि निरन्तर घट्दो क्रममा रहेको ब्याजदर माघमा पनि ओरालो लागेको हो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये अधिकांशले पुसको तुलनामा माघका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर पुसको ४.८३ प्रतिशतबाट घटेर माघमा करिब ४.६८ प्रतिशतमा सीमित भएको छ । यस अवधिमा औसतमा करिब ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटेको देखिन्छ ।
माघमा ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ८ बैंकले यथावत् राखेका छन् । एक बैंकले मात्र सामान्य वृद्धि गरेको छ । ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास, एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स बैंक रहेका छन् । प्राइम कमर्सियल बैंकले भने व्यक्तिगत निक्षेपमा ब्याजदर केही बढाएको छ । प्राइमले व्यक्तिगत निक्षेपको ब्याजदर ४.२५ प्रतिशतबाट ४.४ प्रतिशतमा पुर्याएको हो ।
व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा उच्च ब्याजदर ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत कायम गरेको छ भने सबैभन्दा न्यून ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४.३६ प्रतिशत रहेको छ ।
संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदर घट्दो क्रममा देखिएको छ । पुसमा औसत ३.४४ प्रतिशत रहेको संस्थागत निक्षेपको अधिकतम ब्याजदर माघमा घटेर करिब ३.३८ प्रतिशतमा झरेको छ । यद्यपि यस खण्डमा धेरैजसो बैंकहरूले ब्याजदर स्थिर राखेका छन् र केही बैंकमा मात्र सीमित कटौती देखिएको छ । अधिकांश बैंकको संस्थागत निक्षेप ब्याजदर २.७५ देखि ३.५ प्रतिशतको दायराभित्र सीमित छ ।
बैंकहरूसँग हाल कर्जा लगानीयोग्य रकम पर्याप्त रहेको छ । बैंकिङ प्रणालीमा करिब ११ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम उपलब्ध भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसक्दा ब्याजदर घटाउन बैंकहरू बाध्य भएका हुन् । राष्ट्र बैंकले पनि बोन्ड, स्थायी निक्षेप सुविधा लगायतका उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ ।
निक्षेपको ब्याजदर घट्दा आधार दरमा असर पर्ने र त्यसको प्रभाव कर्जाको ब्याजदरमा पनि देखिने भएकाले कर्जाग्राहीलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।