काठमाडौँ । एनसेल नेपालमा सफल विदेशी लगानीको उत्कृष्ट उदाहरणका रूपमा स्थापित कम्पनी हो । कम्पनी कानुन बमोजिम संस्थापित एनसेलले दूरसञ्चार ऐन, २०५३ अनुसार मोबाइल सेवा सञ्चालनको अनुमति प्राप्त गरी विगत २१ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ ।
उद्योग विभागमा ठुला उद्योगका रूपमा दर्ता भई ठुला करदाता कार्यालयमा सूचीकृत एनसेल देशकै अग्रणी दूरसञ्चार सेवा प्रदायक र सर्वाधिक कर बुझाउने करदाता कम्पनीमध्येको एक हो ।
एनसेलले देशभर १ करोड ४० लाखभन्दा बढी नेपालीलाई आधुनिक, भरपर्दो र सर्वसुलभ दूरसञ्चार सेवा उपलब्ध गराइरहेको छ । दुर्गम र ग्रामीण क्षेत्रसम्म नेटवर्क विस्तार गर्दै कम्पनीले सूचना र सञ्चारको पहुँचलाई व्यापक बनाएको छ । यसले डिजिटल विभाजन घटाउन र नागरिकलाई प्रविधिसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
स्थापनाकालदेखि हालसम्म एनसेलले विभिन्न शीर्षकमा ३ खर्ब ६० अर्ब रुपैयाँ भन्दा बढी राजस्व राज्यलाई योगदान गरेको छ । प्रत्यक्ष र परोक्ष रूपमा हजारौँ नेपालीलाई रोजगारी प्रदान गर्दै आएको कम्पनीले अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पारेको छ । स्वास्थ्य, शिक्षा, वातावरण, कला र संस्कृति जस्ता क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ । यसबाहेक, एनसेलले नेपाल प्रिमियर लिगजस्ता राष्ट्रिय पहिचान बोकेका खेलकुद प्रतियोगिताको प्रायोजनमार्फत पनि देशको अन्तर्राष्ट्रिय छवि प्रवर्द्धनमा निरन्तर सहयोग गरिरहेको छ ।
बाढी, पहिरो र अन्य मौसमजन्य प्रकोपका बेला पूर्वसूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरणमा एनसेलले जिम्मेवार भूमिका खेल्दै आएको छ । हालै मात्र जेनजी लक्षित प्याक सार्वजनिक देशभरका सय जना विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिने घोषणा पनि गरेको छ । यी गतिविधिले कम्पनीको सामाजिक प्रतिबद्धता झल्काउँछन् ।
लगानी र प्रविधि हस्तान्तरणका दृष्टिले एनसेल नेपालको विदेशी लगानी सफल हुन सक्छ भन्ने सशक्त उदाहरण हो । साबिकमा टेलिया सोनेरा र आजियाटाजस्ता विश्वका प्रतिष्ठित दूरसञ्चार कम्पनीहरूको लगानी रहेको एनसेलले निरन्तर सेवा सञ्चालनमार्फत अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गरेको छ । यसले विदेशी लगानीमैत्री वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको छ ।
एनसेलमार्फत दूरसञ्चार क्षेत्रमा भएको ठुलो लगानी, ज्ञान र प्रविधिको हस्तान्तरण तथा स्वस्थ व्यावसायिक प्रतिस्पर्धाका कारण आज नेपाली उपभोक्ताले विश्वस्तरको दूरसञ्चार सेवा उपयोग गर्न पाएका छन् । मोबाइल ब्रडब्यान्ड, डिजिटल सेवा प्लेटफर्म र नेटवर्क पूर्वाधारमा गरिएको निरन्तर लगानीले डिजिटल अर्थतन्त्रको आधार तयार भएको छ ।
नेपालको संविधानले प्रत्याभूत गरेको सूचना तथा सञ्चारको मौलिक हकको कार्यान्वयनमा एनसेलको भूमिका अग्रणी छ । इन्टरनेटसहितको मोबाइल सेवा विस्तारले दुर्गम क्षेत्रका नागरिकले पनि सूचना र सेवामा पहुँच पाएका छन् । ई-गभर्नेन्स, मोबाइल भुक्तानी, डिजिटल वालेट र ई-कमर्सजस्ता सेवाको विकास सम्भव हुनुमा दूरसञ्चार पूर्वाधारको ठुलो योगदान रहेको छ ।
पहिले सिम कार्ड प्राप्त गर्न जटिल प्रक्रिया झेल्नुपर्ने अवस्था थियो । आज डिजिटल माध्यमबाट केही मिनेटमै सेवा लिन सकिने अवस्था बनेको छ । यो परिवर्तन निरन्तर लगानी र प्रविधि सुधारको प्रतिफल हो । अहिले दूरसञ्चार सेवामा सानो अवरोध हुँदा पनि नागरिकको मौलिक हक प्रभावित हुने अवस्था देखिनुले यसको महत्त्व झन् स्पष्ट हुन्छ ।
रोजगारी, राजस्व, सामाजिक उत्तरदायित्व, प्रविधि हस्तान्तरण र सूचना तथा सञ्चारको हक प्रवर्द्धनमा गरेको योगदानका कारण एनसेल एक जिम्मेवार असल व्यावसायिक नागरिकका रूपमा स्थापित भएको छ । डिजिटल नेपालका लक्ष्य हासिल गर्न कम्पनीले भविष्यमा पनि थप लगानी, नेटवर्क विस्तार र डिजिटल क्षमताको विकासमा निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसका लागि राज्यबाट सहयोगी र सहज नियमनकारी वातावरण अपरिहार्य छ ।