काठमाडौँ । राजस्वको अनुपातमा खर्च बढी हुँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारको बजेट घाटा बढेको छ । सरकारी तथ्यांक अनुसार साउनदेखि पुससम्ममा सरकारले १ खर्ब ८ अर्ब रुपैयाँ बजेट घाटा व्यहोरेको हो ।
अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व उठेको छ । यो सरकारको लक्ष्यको ८१.७५ प्रतिशत हो ।
सरकारले यो वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यसमध्ये पुससम्ममा ७ खर्ब ११ अर्ब २१ करोड उठाउने योजना राखेको थियो । तर पुससम्ममा करिब १ खर्ब २९ अर्ब रुपैयाँले कम राजस्व उठ्यो ।
यद्यपि, पुस महिनाको राजस्व संकलन भने तुलनात्मक रूपमा राम्रो देखिएको छ । पुसका लागि तोकिएको लक्ष्यको ८९.९६ प्रतिशत राजस्व उठेको छ । पुस महिनाका लागि १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ लक्ष्य तोकिएकामा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको हो । पुस ३० गते एकै दिन २० अर्ब २६ करोड रुपैयाँ संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको पुस महिनाको संकलन केही सुधारिएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ वार्षिक राजस्व लक्ष्य लिएकोमा पुस मसान्तसम्ममा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ संकलन भएको थियो । गत वर्षको दाँजोमा पुसको राजस्व संलकनमा २.४७ प्रतिशतले बढेको हो ।
यद्यपि, सरकारको वार्षिक लक्ष्य हासिल गर्न अझै कठिन देखिएको छ ।
उता, महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको आम्दानीभन्दा खर्च निकै बढी देखिएको छ ।
सरकारले पुस मसान्तसम्ममा ६ खर्ब ९० अर्ब २१ करोड ५४ लाख बराबर खर्च गरेको छ । यो सरकारको वार्षिक लक्ष्यको ३५.१४ प्रतिशत हो । सरकारले यस अवधिमा सबैभन्दा धेरै चालु खर्च गरेको छ । चालु शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ४१.२५ प्रतिशत अर्थात् ४ खर्ब ८७ अर्ब १४ करोड ३१ लाख खर्च गरेको छ । चालु खर्च ४१ प्रतिशत नाघेपनि विकास खर्च भने केवल १२ प्रतिशतममा सीमित छ । यस अवधिमा केवल ४९ अर्ब ४२ करोड ५४ लाख मात्रै विकास खर्च भएको छ ।
आम्दानी र खर्चको यो अनुपातले सरकार दबाबमा परेको छ ।