• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

६ महिनाको वैदेशिक व्यापार: ९ खर्ब ३९ अर्बको आयात, १ खर्ब ४२ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार उल्लेखनीय रूपमा वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउनदेखि पुससम्ममा नेपालको कुल वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ पुगेको हो ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

यस अवधिमा आयात १४.१८ प्रतिशतले वृद्धि भएको छ । साउनदेखि पुससम्ममा नेपालले कुल ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

६ महिनामा निर्यात समेत उल्लेखनीय सुधार भएको छ । यस अवधिमा नेपालको निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ९८ अर्ब ७८ करोड रुपैयाँ बराबरको मात्र सामान निर्यात भएको थियो ।

आयात र निर्यातमा दुवैमा देखिएको यो वृद्धिले समग्र व्यापार घाटा समेत चुलिएको छ । ६ महिनासम्मको तथ्याङ्कले मुलुकको वैदेशिक व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको दाँजोमा १०.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वैदेशिक व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

तथ्याङ्कले समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.८६ प्रतिशत र निर्यातको हिस्सा १३.१४ प्रतिशत रहेको देखाएको छ ।