• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

२८ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रत्येक नेपालीको शिरमा साढे ९६ हजार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको सार्वजनिक ऋण उल्लेखनीय रूपमा बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको विवरणअनुसार गत असार मसान्तमा २६ खर्ब ७४ अर्ब ०४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण ६ महिनाको अवधिमा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो । यस अवधिमा कुल सार्वजनिक ऋण ४.९५ प्रतिशतले बढेको देखिन्छ ।

हाल नेपाल सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशत बराबर पुगेको छ । कुल ऋणमध्ये ५३ प्रतिशत अर्थात् १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख रुपैयाँ बाह्य ऋण रहेको छ भने ४७ प्रतिशत अर्थात् १३ खर्ब १९ अर्ब १३ करोड १० लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ । जीडीपीको अनुपातमा हेर्दा आन्तरिक ऋण २१.६० प्रतिशत र बाह्य ऋण २४.३५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

छ महिनाको अवधिमा ऋण उठाउने र भुक्तानी गर्ने दुवै गतिविधि तीव्र देखिएका छन् । चालु आर्थिक वर्षको पुस महिनामा मात्रै सरकारले ३६ अर्ब ४३ करोड रुपैयाँ ऋण उठाएको छ । यसमध्ये ३० अर्ब रुपैयाँ आन्तरिक ऋण र ६ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बाह्य ऋण रहेको छ । सोही अवधिमा सरकारले ऋणको साँवा र ब्याज भुक्तानीमा २० अर्ब ११ करोड १५ लाख रुपैयाँ खर्च गरेको छ । जसमा आन्तरिक ऋणतर्फ १७ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ र बाह्य ऋणतर्फ २६ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । यसरी पुस महिनामा मात्रै सरकारले भुक्तानीभन्दा १६ अर्ब ३१ करोड रुपैयाँ बढी ऋण थप गरेको देखिन्छ ।

समग्र छ महिनामा सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमा ठूलो रकम खर्च भएको छ । यस अवधिमा सरकारले कुल १ खर्ब ८७ अर्ब १२ करोड ६६ लाख रुपैयाँ ऋण सेवा खर्च गरेको छ, जुन वार्षिक लक्ष्यको ४५.५३ प्रतिशत हो । यसमध्ये १ खर्ब ५२ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ साँवा भुक्तानीमा र ३४ अर्ब २३ करोड २७ लाख रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको छ । आन्तरिक ऋणको साँवा-ब्याजमा १ खर्ब ५५ अर्ब १३ करोड ५४ हजार रुपैयाँ र बाह्य ऋणतर्फ ३१ अर्ब ९९ करोड १२ लाख रुपैयाँ खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षका लागि ऋण सेवा खर्च शीर्षकमा कुल ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पुस मसान्तसम्मको ऋण सेवा खर्च जीडीपीको ३.०६ प्रतिशत बराबर रहेको छ ।

ऋण उठाउने लक्ष्यअनुसार प्रगति हेर्दा सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । पुस मसान्तसम्म २ खर्ब १४ अर्ब ५५ करोड ९१ लाख रुपैयाँ प्राप्ति भएको छ, जुन वार्षिक लक्ष्यको ३६.०२ प्रतिशत हो । कुल प्राप्त ऋणमध्ये आन्तरिक ऋण १ खर्ब ७७ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ रहेको छ, जुन आन्तरिक ऋण लक्ष्य ३ खर्ब ६२ अर्बको ४९.०८ प्रतिशत हो । यस्तै, बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड ३१ लाख रुपैयाँको लक्ष्यमा हालसम्म ३६ अर्ब ८९ करोड २२ लाख रुपैयाँ मात्र प्राप्त भएको छ, जुन १५.७९ प्रतिशत हो । पछिल्लो छ महिनामा उठाइएको कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८२.८१ प्रतिशत र बाह्य ऋणको हिस्सा १७.१९ प्रतिशत रहेको छ ।

सार्वजनिक ऋणमा विनिमय दरको प्रभाव पनि देखिएको छ । अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमय दर बढ्दा नेपालले तिर्न बाँकी वैदेशिक ऋणमा मात्रै ७० अर्ब ६८ करोड रुपैयाँ अतिरिक्त दायित्व थपिएको छ । पछिल्लो जनसङ्ख्यालाई आधार मान्दा नेपालको प्रतिव्यक्ति सार्वजनिक ऋण करिब साढे ९६ हजार रुपैयाँ पुगेको छ ।

समग्रमा हेर्दा बाह्य ऋणको हिस्सा अझै ठूलो रहे पनि पछिल्ला वर्षहरूमा आन्तरिक ऋण र ब्याज खर्च बढ्दै गएको देखिन्छ । यसले आगामी दिनमा बजेटमा ऋण दायित्वको चाप अझै बढ्ने संकेत गरेको छ ।