• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

किन घट्यो विद्युतीय गाडीको आयात ?

काठमाडौँ । पछिल्लो समय विद्युतीय गाडी (ईभी) आयात घट्दै गएको छ । यस वर्ष चीनसँगको मुख्य २ व्यापारिक नाकामा भएको अवरोधका कारणले नेपालमा ईभी आयात घटेको सरोकारवालाहरूले बताएका छन् ।

भन्सार विभागले बुधबार जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पुस सम्म चार पाङ्ग्रे ईभी १२ अर्ब ५ करोड ४५ लाख रुपैयाँको ५ हजार ७१ थान आयात भएको छ । यो आयात गत आवको सोही अवधिको तुलनामा कम हो । गत आवको सोही अवधिमा नेपालमा कुल १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको ५ हजार ४८० थान इभी आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

गत असार २३ मा तिब्बतको ल्हेन्दे खोलामा गएको बाढीका कारण मितेरी खोलाको पुल बगाएपछि रसुवा नाका ठप्प हुँदा र पहिरोका कारण केही समय तातोपानी नाका समेत ठप्प हुँदा यस वर्ष ईभी आयातमा कमी आएको रसुवा भन्सारका अधिकृत ठाकुर गौतमले जानकारी दिए ।

यद्यपि, उक्त खोलामा चीनले अस्थायी बेलिब्रिज निर्माण गरेपछि करिब ६ महिना पछि गत पुस दोस्रो साता देखि नाका पुनः सुचारु भइसकेको छ भने तातोपानी नाका पनि सुचारु नै छ ।

तर, लामो समय नाका बन्द रहँदा त्यसैको असर स्वरूप ईभी आयातमा कमी देखिएको गौतमले बताए । उनका अनुसार अहिले रसुवा नाकाबाट सातामा २०–२५ वटादेखि ५० वटा सम्म ईभी आयात हुने गरेका छन् ।

आयात भएका ईभीहरू भन्सार क्षेत्रमा राखी बिलिङ तथा पास प्रक्रिया पूरा भएपछि बजारतर्फ पठाइने गरिएको उनले बताए । हाल रसुवामा नयाँ ड्राइपोर्ट निर्माणको काम भने सुरु भइसकेको छैन । अहिले उपलब्ध ड्राइपोर्ट क्षेत्रलाई सरसफाइ तथा व्यवस्थापन गरेर नै प्रयोगमा ल्याइरहेको भन्सार कार्यालयले जनाएको छ ।

५८ करोड बढीको माइक्रोओभन, इन्डक्सन र राइसकुकर आयात

चालु आवको पुस सम्ममा ५८ करोड २३ लाख ४६ हजार रुपैयाँको २ लाख ८६ हजार ३३७ थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ ।

गत आव र चालु आवको यस अवधिमा माइक्रो ओभन, इन्डक्सन र राइसकुकरको आयात तुलना गर्दा आयातमा खासै फरक देखिएको छैन । अघिल्लो आवको पुस सम्म ५८ करोड ३२ लाख रुपैयाँको २१ लाख ९६ हजार ७ सय थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको थियो ।

स्मार्टफोनको आयातमा वृद्धि

चालु आवको पहिलो ६ महिनामा २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँको १२ लाख ५२ हजार ६३४ थान स्मार्टफोन आयात भएका छन् । गत आवको सोही अवधिमा १६ अर्ब ७१ करोड रुपैयाँको ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएको थियो ।

पछिल्लो समय प्रायः मान्छेले सबै जसो बिल भुक्तानी मोबाइल बैङ्किङ वा एपबाटै गर्ने र अनलाइन कक्षा लिने, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा आम मानिसको पहुँच बढेका कारण पनि हरेकले स्मार्टफोन बोक्ने गर्छन् । यसले गर्दा हरेक वर्ष नेपालमा स्मार्टफोनको आयात बढेको हो ।

पछिल्लो समय विशेषगरी ठुलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको व्यवसायी बताउँछन् । साथै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको छ ।