• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

फुड चेन केएफसीमा माछापुच्छ्रे बैंकले राख्यो पस मेसिन

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ। आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले केएफसीमा पस मेसिन राखेको हो।

‘नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्यअन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्रे बैंकका अत्याधुनिक पस उपकरणहरू जडान गरिएको छ’, बैंकले भनेको छ।

यी उपकरणहरूले ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्यूआरमार्फत भुक्तानी प्रदान गरिेन्छ। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ। जसले दैनिक कारोबारहरुलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्वपूर्ण योगदान पुर्याउनेछ ।

स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ।

बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ। साथै, १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।