• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौँ मुद्रण उद्योग संघको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

मुद्रण उद्योग इतिहास, वर्तमान र भविष्य जोड्ने सेतु हो : हेमराज ढकाल

काठमाडौँ । काठमाडौँ मुद्रण उद्योग संघको एघारौँ वार्षिक साधारण सभा तथा रिफ्रेसमेन्ट कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष दुर्गाप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि ढकालले मुद्रण उद्योग इतिहास, वर्तमान र भविष्यलाई जोड्ने सेतु भएको उल्लेख गरे। उनले भने, “मुद्रण उद्योग त्यस्तो क्षेत्र हो जहाँ विचारहरू अक्षर बन्छन्, अक्षरहरू चेतना बन्छन् र चेतनाले समाजलाई दिशा दिन्छ।”

बदलिँदो प्रविधि, आर्थिक उतार–चढाव र बजारका नयाँ चुनौतीहरूबीच पनि मुद्रण उद्योगले आफ्नो पेशागत मर्यादा, उत्तरदायित्व तथा सामाजिक भूमिकालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।

उनले यस अवसरले उद्योगका संरचनागत समस्या, नीति–नियमसम्बन्धी अपेक्षा, प्रविधिगत रूपान्तरण तथा दिगो विकासका सम्भावनाहरूमाथि गम्भीर विमर्श गर्दै उद्योगीहरूबीच आपसी एकता, सहकार्य र साझा प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए।