काठमाडौँ । मध्यपूर्वमा जारी तनावका कारण भारतमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । इजरायल-अमेरिका र इरानबिचका जारी युद्धका माझ होर्मुज जलमार्ग हुँदै हुने ढुवानीमा अवरोध पुगेको छ, जसको प्रत्यक्ष असर भारतभर देखिएको हो ।
भारतीय पत्रिका द हिन्दुका अनुसार भारतका विभिन्न राज्यका व्यावसायिक एलपी ग्यास प्रयोग गर्ने होटल तथा रेस्टुरेन्टहरू ग्यास अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । राजधानी दिल्लीसँगै महाराष्ट्र, उत्तराखण्ड, कर्नाटकदेखि मिजोरमसम्मै खाना पकाउने ग्यासको अभाव देखिएको छ । यी राज्यहरूका लगभग सबैजसो होटल तथा रेस्टुरेन्टहरूले आफ्नो मेन्युमा आइटमहरू कटौती गरेका छन् भने निर्बाध ग्यास आपूर्ति नभए केही दिनमै व्यवसाय बन्द हुने चेतावनी सरकारलाई दिएका छन् ।

भारतले कुल मागको ६० प्रतिशत ग्यास मध्यपूर्वबाट आपूर्ति गर्दै आएको छ । यसमध्ये करिब ८० देखि ९० प्रतिशत एलपी ग्यास खाडी क्षेत्रका कतार, युएई, साउदी अरब र कुवेतबाट आयात हुने गरेको छ । मध्यपूर्वका ती देशहरूबाट आपूर्ति हुने अधिकांश ग्यास होर्मुज जलमार्गमार्फत ढुवानी हुन्छ । तर इजरायल-अमेरिका र इरानबिचका जारी होर्मुज जलमार्गबाटमा अवरोध पुग्दा ग्यास आपूर्ति घटेको छ । केही कम्पनीहरूले वैकल्पिक रुट हुँदै ढुवानी गर्न थालेका छन् ।
यसले भारतसम्म पुग्ने ग्यासको लागत तथा मूल्य समेत बढाइदिएको छ । भारतीय सञ्चार माध्यम द इकोनोमिक टाइम्सका अनुसार पछिल्लो केही दिनयतामै भारतमा १४.२ केजीको ग्यासको सिलिण्डरको मूल्य प्रति सिलिण्डर ६० भारतीय रुपैयाँले बढेको छ । यस्तै, १९ केजीको व्यावसायिक ग्यास सिलिण्डरको भाउ प्रति सिलिण्डर ११५ भारतीय रुपैयाँसम्मले वृद्धि भएको छ ।
ग्यासको मूल्यमा भएको वृद्धि र अभाव चुलिन सक्ने भयका कारण भारतीय उपभोक्ताहरूले ग्यास स्टोर गर्न खोज्दा त्यसले बजारमा अभाव निम्त्याएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
बजारमा देखिएको यही अभावसँग जुध्न भारत सरकारले तेल रिफाइनरी कम्पनीहरूलाई एलपी ग्यासको उत्पादन बढाउन र बढाइएको उत्पादन घरायसी प्रयोजनमा मात्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
यसबाहेक, एउटा सिलिन्डर किनेको २५ दिनपछि मात्र अर्को सिलिन्डर बुकिङ गर्न पाइने नियम समेत लगाएको छ ।
भारत सरकारले ‘अत्यावश्यक वस्तु ऐन, १९५५’ लागू गर्दै पेट्रोलियम पदार्थ र ग्यासको उपलब्धता, आपूर्ति र समानुपातिक वितरणलाई नियमन समेत सुरु गरेको छ ।
नेपालमा कस्तो असर ?
ग्याससँगै सबै पेट्रोलियम पर्दाथको आयातमा नेपाल पूर्ण रुपमा भारतसँग निर्भर छ । भारतीय आयाल कर्पोरेसनले विदेशबाट कच्चा तेलको आयात गर्ने र त्यसलाई प्रशोधन गरे पश्चात् नेपाल आयाल निगमलाई दिँदै आएको छ । कर्पोरेसनले निगमलाई हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने भएकाले नेपालमा पेट्रोलियम पर्दाथको मूल्य यथावत् छ । यद्यपि, ग्यास अभाव हुन सक्ने भयका कारण नेपालमा समेत आम उपभोक्ताहरूले अनावश्यक भण्डारण गर्न थालेका छन् । यसले गर्दा बजारमा ग्यासको माग ह्वात्तै बढेको छ ।
आयल निगमका अनुसार हाल बजारमा नियमितको दाँजोमा ५० प्रतिशतले माग बढेको छ । यद्यपि, माग अनुरूपको ग्यास आपूर्ति भइरहेकाले कुनै समस्या नआउने निगमको भनाई छ ।
“भारतले हामीलाई दिनुपर्ने ग्यास नियमित रुपमा पठाइरहेको छ । यसबाहेक, उसँग पर्याप्त ग्यास भण्डारण समेत छ । त्यसैले हाम्रोमा कुनै समस्या छैन्,” निगमका एक अधिकारीले भने ।
नेपाल एलपी ग्यास उद्योग संघले समेत ग्यास आपूर्तिमा कुनै समस्या नरहेको बताएको छ । “भारतबाट आउने ५० हजार मेट्रिक टन ग्यास नै हामीले नियमित रूपमा बजार पठाइरहेका छौँ । हालसम्म आपूर्तिमा कुनै समस्या छैन,” संघका पूर्वअध्यक्ष गोकुल भण्डारीले भने, “तर आम उपभोक्ताहरूले अनावश्यक रूपमा चाहिने भन्दा बढी सिलिण्डर भरेर स्टोर गर्न खोज्दा माग भने बढेको छ । तर पनि ग्यास अभाव हुँदैन ।”
उता, ग्यासको कृत्रिम अभाव देखाएर मूल्य बढाउन खोजिएको गुनासो बढेको भन्दै ग्यास विक्रेता महासंघले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
महासंघले देशभरिका आम विक्रेतालाई त्यसो नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न अपिल समेत गरेको छ ।
“यस्ता गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाही हुने कुरा सबै जिल्ला संघमार्फत देशभरिका विक्रेतालाई जानकारी गराउन अपिल गर्दछौँ,” महासंघले भनेको छ ।