• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अर्थतन्त्रको ७ महिना: १२ खर्ब रेमिटेन्स आप्रवाह, ३३ खर्ब विदेशी मुद्रा सञ्चित, महँगी ३.२५%

काठमाडौँ । नेपालको अर्थतन्त्रमा चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सकारात्मक संकेतहरू देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको तथ्यांक अनुसार रेमिटेन्स उल्लेखनीय रूपमा बढेको छ भने बाह्य क्षेत्रका सूचकहरू पनि सुधारको दिशामा देखिएका छन्।

७ महिनाको अवधिमा नेपालमा कुल १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा रेमिटेन्स ७.५ प्रतिशतले मात्रै बढेको थियो। माघ महिनामा मात्र करिब १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ थियो।

अमेरिकी डलरमा पनि रेमिटेन्स आप्रवाह ३३ प्रतिशतले बढेर ८ अर्ब ८६ करोड पुगेको छ। रेमिटेन्स बढेसँगै खुद द्वितीय आय (खुद ट्रान्सफर) समेत उल्लेखनीय रूपमा बढेर १३ खर्ब ८४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यो रकम ९ खर्ब ८६ अर्ब ३४ करोड रुपैयाँ मात्रै थियो।

वैदेशिक रोजगारीतर्फ पनि ठूलो संख्यामा नेपाली गइरहेका छन्। समीक्षा अवधिमा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४५ हजार १५३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४२४ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ थियो।

रेमिटेन्स वृद्धिको प्रभाव बाह्य क्षेत्रमा पनि देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा मुलुकको चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्ष यही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले मात्रै बचतमा थियो। त्यस्तै शोधनान्तर स्थिति पनि ५ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँले बचतमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

विदेशी मुद्रा सञ्चितिमा पनि ठूलो वृद्धि भएको छ। माघ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने अमेरिकी डलरमा यो २२ अर्ब ७६ करोड रहेको छ। हालको सञ्चितिले करिब १८ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

व्यापारतर्फ निर्यात ३२.२ प्रतिशतले बढेको छ भने आयात १३.६ प्रतिशतले वृद्धि भएको छ। यसैबीच प्रत्यक्ष वैदेशिक लगानी पनि बढेर १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७ अर्ब ४३ करोड रुपैयाँ थियो।

मुद्रास्फीतिको अवस्था भने तुलनात्मक रूपमा नियन्त्रणमा देखिएको छ। माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता महँगी दर ३.२५ प्रतिशतमा सीमित रहेको छ, जबकि अघिल्लो वर्ष यही समयमा यस्तो दर ४.१६ प्रतिशत थियो। सात महिनाको औसत महँगी १.९२ प्रतिशत मात्रै रहेको छ।

खाद्य समूहअन्तर्गत तरकारीको मूल्य ११.६३ प्रतिशत, घ्यू तथा तेल ७.६१ प्रतिशत र फलफूल ७.४१ प्रतिशतले बढेको छ भने दाल, गेडागुडी तथा केही खाद्य वस्तुको मूल्य घटेको देखिएको छ। गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य २१.९८ प्रतिशतले बढेको छ भने शिक्षा, कपडा तथा जुत्ताचप्पल लगायतका क्षेत्रमा पनि मूल्य वृद्धि देखिएको छ।

बैंकिङ क्षेत्रमा पनि सुधारको संकेत देखिएको छ। विस्तृत मुद्राप्रदाय ५.९ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ प्रतिशतले र निजी क्षेत्रमा जाने कर्जा ४ प्रतिशतले वृद्धि भएको छ।

समग्रमा रेमिटेन्स वृद्धि, विदेशी मुद्रा सञ्चितिमा भएको विस्तार, चालु खाता र शोधनान्तरमा देखिएको बचत तथा कम महँगीदरले नेपालको अर्थतन्त्रमा चालु आर्थिक वर्षको सात महिनामा अपेक्षाकृत सकारात्मक अवस्था देखिएको विश्लेषण गरिएको छ।