काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गर्ने सिट संख्याको अन्तिम टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित निर्वाचन कानुन बमोजिम ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउने ६ वटा दलको सिट संख्या निर्धारण गरेको जानकारी दिएको हो।
आयोगका अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट र नेपाल कम्युनिस्ट पार्टीले ९ सिट पाएका छन्। यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४–४ सिट हात पारेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत (९६.०५ प्रतिशत) सदर भएको आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) बमोजिम दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा यो सिट संख्या निर्धारण गरिएको हो। प्रत्यक्षतर्फको निर्वाचनमा पनि रास्वपाले नै सबैभन्दा बढी १२५ सिट प्राप्त गरेको छ।
