काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै एनसेलले सञ्चार सेवालाई सहज र सुलभ बनाउन टुरिस्ट सिम र ई–सिम योजनाहरू सञ्चालनमा ल्याइरहेको छ । यस योजनाबाट नेपालको सुन्दरता नियाल्न आउने पर्यटकहरूले आफ्नो बसाइको अवधि र आवश्यकता अनुसार तीव्र गतिको फोरजी इन्टरनेट र अनलिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । कम्पनीले पर्यटकहरूको सुविधाका लागि ७ दिन, १४ दिन र २८ दिन अवधिका तीनवटा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ।
यी पर्यटकीय सिम कार्डहरू प्राप्त गर्न पर्यटकहरूले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेलको काउन्टरबाट सजिलै सेवा लिन सक्नेछन्। यसका साथै नेपालका प्रमुख शहरहरू र सीमावर्ती नाकाहरूमा रहेका एनसेल सेन्टरहरू तथा देशभरका आधिकारिक खुद्रा बिक्रेताहरूबाट पनि यो सिम खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
भौतिक सिम कार्ड दर्ता र तत्काल सुचारु गर्नका लागि पर्यटकले आफ्नो सक्कल राहदानी (पासपोर्ट) अनिवार्य रूपमा साथमा लैजानुपर्ने हुन्छ। पछिल्लो समय प्रविधिको विकाससँगै एनसेलले अनलाइनमार्फत नै ‘ई–सिम’ लिन सकिने सुविधा समेत दिएको छ, जसका लागि पर्यटकले एनसेलको आधिकारिक पर्यटकीय ई–सिम प्लेटफर्ममा गएर आवश्यक प्रक्रिया पूरा गरी ई सिम प्रयोग गर्न सक्नेछन्।
एनसेलले ल्याएको ‘टुरिस्ट प्रो’ योजना अन्तर्गत ७ दिनको अवधिसम्म मान्य रहने ‘स्प्रिन्टर’ प्याकेज ५९५ रुपैयाँमा उपलब्ध छ। त्यस्तै, १४ दिनका लागि ‘एक्स्प्लोरर’ प्याकेज ९९५ रुपैयाँ र २८ दिनको लामो बसाइका लागि ‘भोयाजर’ प्याकेज १,९९५ रुपैयाँमा प्राप्त गर्न सकिन्छ। यी तीनै योजनामा अनलिमिटेड डाटा, सबै नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड भ्वाइस र १०० वटा एसएमएसको सुविधा समावेश गरिएको छ। यी प्याकहरूको वैधता सिम एक्टिभेट भएको समयदेखि नै गणना हुनेछ।
डाटा र भ्वाइस अनलिमिटेड भनिए तापनि यसमा ‘फेयर युसेज पोलिसी’ लागू हुने कम्पनीले जनाएको छ। जसअनुसार ७ दिने प्याकमा १० जीबी र १४ दिने प्याकमा २५ जीबी उच्च गतिको डाटा सकिएपछि इन्टरनेटको गति २५६ केबीपीएसमा सीमित हुनेछ। यदि पर्यटकले आफ्नो प्याकेज सकिएपछि थप सेवा लिन चाहेमा एनसेल एप, खुद्रा पसल वा आफ्नो मोबाइलबाट सिधै स्टार १२३ ह्यास डायल गरेर पुनः नयाँ प्याकहरू खरिद गर्न सक्नेछन्।
गैर–नेपाली नागरिकहरूका लागि मात्रै उपलब्ध यो विशेष सिममा ब्यालेन्स टप–अप गरेर भ्वाइस सेवाहरू प्रयोग गर्न सकिए पनि डाटा चलाउनका लागि भने अनिवार्य रूपमा प्याक नै खरिद गर्नुपर्ने नियम रहेको छ।