• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चुनाव हारेपछि आरोप–प्रत्यारोपमा उत्रिए एमाले नेताहरु

काठमाडौँ । निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेकपा एमालेका नेताहरुमा आरोप प्रत्यारोप शुरु भएको छ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेतृत्वले राजीनामा दिनुपर्ने बताएका छन् भने उनलाई कैयौं नेताहरुले साथ पनि दिइरहेका छन् । तर अध्यक्ष केपी शर्मा ओली पक्ष भने डिफेन्सिभ देखिएको छ ।

यसैबीच, नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले योगेश भट्टराईले चुनावमा महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्- अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ। तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ। अझ मैले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको थिएँ। त्यसबेला उहाँले ताप्लेजुङ जानुपर्ने बताउनुभएको थियो। मैले त्यसलाई स्वाभाविक रूपमा लिएको थिएँ। तर अहिले उहाँका नाममा सम्प्रेषित समाचारबाट भने म आश्चर्यचकित भएको छु ।

त्यस्तै, एमाले नेता गोकुल बास्कोटाले अर्का नेता शेरबहादुर तामाङलाई अवसरवादी भनेका छन् । उनले तामाङले आफू र आफ्नी श्रीमतीको पद प्राप्तिको लागि गुट बदलेको आरोप लगाएका छन् ।

उनले भनेका छन्- भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाइ लागेछन् । म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । ०३८ यताका इतिहास हेरौँ न ।

अध्यक्ष पितृशोकमा रहेका बेला आरोप प्रत्यारोप नगरौं : योगेश भट्टराई

यसैबीच, उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेको बेला पार्टीमा आरोप प्रत्यारोप नगर्न आग्रह गरेका छन् । भट्टराईले अध्यक्ष ओली पितृशोकमा रहेकाले अहिलेको समय पार्टीका लागि पनि शोकको घडी भएको उल्लेख गर्दै यस्तो अवस्थामा एकअर्काप्रति नकारात्मक टिप्पणी गर्नु र घृणाजन्य अभिव्यक्ति दिनु उचित नहुने बताए ।

उनले भने- ‘यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ ।’

भट्टराईका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफू लगायत अन्य नेताहरूका बारेमा आधारहीन आरोप लगाउने, घृणायुक्त टिप्पणी गर्ने तथा झुटा सूचना फैलाउने काम भइरहेको बताउँदै नक्कली सामाजिक सञ्जाल परिचय यस्ता गतिविधिमा सक्रिय रहेको पनि उल्लेख गरेका छन् ।

उनले पार्टीको एकता जोगाउने, संगठनलाई बहुआयामिक रूपमा रूपान्तरण गर्ने र गुमेको जनविश्वास पुनः प्राप्त गर्ने काम अहिले एमालेका लागि सबैभन्दा महत्वपूर्ण दायित्व भएको बताए ।

भट्टराईले उपयुक्त समय र स्थापित प्रक्रियामार्फत तथ्य र तर्कका आधारमा छलफल तथा बहस गर्न आवश्यक रहेको भन्दै गलत सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्ति रोक्न सबैलाई आग्रह गरेका छन् ।

पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्ने बेला भयो : सुरेन्द्र पाण्डे

यस्तै, नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पाण्डेले जनताले मतपत्रमार्फत दिएको अस्वीकारको सन्देशलाई गम्भीर रूपमा लिन आवश्यक भएको बताउँदै अब पार्टीको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आएको बताएका हुन् ।

उनले भनेका छन्- ‘नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको छ । यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो । मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला तर अन्तर्घातले ५-१० हजार मत तल-माथि होला । देखिएको ४०-५० हजारको मतान्तरलाई “फसाइएको” भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो ।’

पाण्डेले जनताले मतपत्रमार्फत दिएको अस्वीकारको सन्देशलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । उनले यस्तो अवस्थामा आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी नहुने टिप्पणी गरेका छन् ।

पाण्डेले ठूलो नैतिक पराजयपछि पनि नेतृत्वसँग अरूलाई कारबाही गर्ने नैतिक आधार कति बाँकी छ भन्ने प्रश्न उठाएका छन् । उनका अनुसार अहिलेको अवस्थामा नेकपा एमालेको संरचना र कार्यशैलीलाई पुनः व्यवस्थित गर्ने आवश्यकता देखिएको छ ।

उनले यसलाई कुनै षड्यन्त्र नभई पार्टीको वर्तमान सञ्चालन शैलीप्रति जनताले दिएको स्पष्ट अस्वीकारको सन्देशका रूपमा बुझ्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यौँ भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।’

उनले पार्टीले समयमै आफ्नो कार्यशैली परिवर्तन गर्ने साहस नगरे पार्टी र देश दुवैका लागि हानिकारक हुन सक्ने चेतावनी समेत दिएका छन् ।

नेकपा एमालेले भर्खरै सम्पन्न चुनावमा प्रत्यक्षतर्फ ९ सिट जितेको छ भने समानुपातिकमा तेस्रो हुँदै १६ सिट जितेको छ । अघिल्लो चुनावमा समानुपातिकतर्फ एमाले पहिलो दल थियो ।