• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चैतमा पनि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुन महिनाको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटेको देखिएको छ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर फागुनमा ४.५६ प्रतिशत रहेकोमा चैतमा ०.०७ प्रतिशत बिन्दुले घटेर ४.४९ प्रतिशतमा झरेको छ। त्यस्तै संस्थागत मुद्दती निक्षेपतर्फको अधिकतम औसत ब्याजदर पनि ०.०३ प्रतिशत बिन्दुले घटेर ३.२९ प्रतिशतमा कायम भएको छ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले फागुन महिनाकै दरलाई निरन्तरता दिएका छन्। यस पटक ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक रहेका छन्।

सबैभन्दा धेरै ब्याजदर कटौती नेपाल बैंकले गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.१ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेको हो। ग्लोबल आइएमई बैंकले ४.७५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरेको छ भने कुमारी बैंकले ४.४३ प्रतिशतबाट घटाएर ४.१२ प्रतिशतमा निर्धारण गरेको छ। त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.२५ प्रतिशतबाट ४.११ प्रतिशतमा दर घटाएको छ। कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकले पनि ४.२५ प्रतिशतबाट घटाएर ४.१५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

अन्य बैंकहरूले भने फागुन महिनाकै दरलाई यथावत राखेका छन्। हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्, जुन हाल सबैभन्दा उच्च दर हो।

त्यस्तै प्रभु बैंक र नबिल बैंकले ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन् भने माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, सानीमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदरलाई यथावत राखेका छन्। नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकले भने ४.२५ प्रतिशतकै दरमा ब्याज दिने भएका छन्।

बैंकहरूमा तरलता बढ्दै जाँदा पछिल्ला महिनाहरूमा मुद्दती निक्षेपको ब्याजदर क्रमशः घट्दै गएको छ। १ वर्ष वा सोभन्दा कम अवधिको मुद्दती निक्षेपमा धेरै बैंकहरूले ब्याजदर ४ प्रतिशतभन्दा तलसम्म झारिसकेका छन्।