काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ले समानुपातिक सूचीप्रति असन्तुष्टि पोखेकी छन् । रास्वपाले ५७ जान समानुपातिक सांसद सिफारिस गरेकोप्रति कोशीको भौगोलिकता र जातीय क्लस्टर समेट्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै कोशीको हकमा पहाडी भूगोल छुटाउन नहुने सुझाव दिएको बताउदै सूचीमा आउनु पर्ने नाम नआउनु अबका दिनहरूमा सङ्गठनमा धेरै असर नपर्ला भन्न नसकिने उल्लेख गरेकी छन् । उनले जान्नेलाई छान्ने लहडमा ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङको नाम छुटाइएको बताएकी छन् ।
उनले भनेकी छन्-
मैले कोशीको हकमा पहाडी भुगोल समेट्न पर्छ, छुट्नु हुन्न भनेको थिएँ छनौटको समयमा । जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने नाम थियो, ओखलढुंगाको बगरहरुमा घन्टी बोकेर पहिलो उम्मेदवार जसले सानो नानी चेपेर रास्वपाको बीउ रोपेको थियो २०७९ मा उहाँ हुनुहुन्थ्यो शोभा कार्की । खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्याकला राई वहाँको नाम किन आएन ?
पर्नुपर्ने नाम थियो, ताप्लेजुङकी मिरा लाबुङ । उहाँको नाम नआउनु पार्टीले कोशीको भौगोलिकता र जातीय कलस्टरलाई समेट्न नसक्दा अबका दिनहरुमा सङ्गठनमा धेरै असर नपर्ला भन्न सकिन्नँ । र अर्को कुरा समुदायको ब्यक्ति विशेषहरु केन्द्रीय नेताज्यूहरुको वरपर नजिक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु बिडम्बना दु:खद् छ ।