• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

धनेन्द्रको यात्रा : यातायात व्यवसायदेखि संसद्सम्म

देशको राजनीतिमा बढ्दो निराशा, पुराना दलप्रतिको घट्दो जनविश्वास र नयाँ विकल्पको खोजीबिच सिन्धुली जिल्लाको राजनीतिक परिदृश्यमा नयाँ आशाको संकेतका रूपमा धनेन्द्र कार्कीको उदय भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिन्धुली-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका कार्कीको यात्रा साधारण व्यवसायबाट सुरु भएर संघीय संसद्सम्म आइपुगेको छ ।

यातायात व्यवसायबाट सुरु भएको यात्रा

धनेन्द्र कार्की लामो समयदेखि यातायात व्यवसायमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। सडक यातायातको व्यवस्थापन, यातायात मजदुरको कठिन जीवन, ग्रामीण बस्तीमा यातायातको अभाव र यात्रु सेवासँग सम्बन्धित चुनौतीहरू उनले नजिकबाट भोगेका छन्। यही अनुभवले उनलाई समाजका वास्तविक समस्या बुझ्ने अवसर दियो।

यातायात मजदुरको पीडा, दुर्गम गाउँमा सडकको दुरावस्था र राज्य संयन्त्रको उदासीनताले उनलाई सार्वजनिक जीवनमा अझ सक्रिय बनाउँदै लग्यो। यही यात्राले अन्ततः उनलाई राजनीतिमा प्रवेश गर्ने निर्णयसम्म पुर्‍यायो। देशको राजनीतिमा देखिएको निराशा, पुराना राजनीतिक दलप्रतिको घट्दो भरोसा र नयाँ राजनीतिक संस्कारको आवश्यकता महसुस गर्दै कार्की राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिन आइपुगे रोजे। उनका शब्दमा, “अब कुरा होइन, काम गर्ने समय आएको छ।” भ्रष्टाचारमुक्त, पारदर्शी र नागरिकमुखी शासन स्थापना गर्ने उद्देश्यका साथ उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका थिए।

कार्कीको धारणा स्पष्ट छ—संसद् जनताको आवाज बुलन्द गर्ने थलो हुनुपर्छ। सुशासन, जबाफदेहिता, राज्यको स्रोत–साधनको पारदर्शी उपयोग र नीति निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिता उनका प्रमुख एजेन्डा छन्।

जनविश्वासले जितेको निर्वाचन

सिन्धुली-१ मा भएको कडा प्रतिस्पर्धाबिच जनताले धनेन्द्र कार्कीलाई विश्वास गरे। निर्वाचन परिणाम अनुसार उनले १६ हजार ६५९ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका प्रदीपकुमार कटुवाल क्षेत्रीले १५ हजार ८५९ मत प्राप्त गरे ।

कडा प्रतिस्पर्धाबिच प्राप्त यो जितलाई स्थानीयवासीहरूले नयाँ राजनीतिक सोचप्रतिको विश्वासका रूपमा हेरेका छन्। उम्मेदवारका रूपमा जनताका घर-घर तथा कुना कन्दरा पुग्दा उनलाई धेरै कुराले व्यथित बनाएको छ भने सँगै दृढ आत्मविश्वास र हौसला समेत भरेको छ ।

कार्कीलाई दुधौली नगरपालिका अन्तर्गत रहेको दुधौली नगर अस्पताल सिर्थौलीमा हाल सर्पदंश विशेषज्ञ टोली उपलब्ध नहुँदा स्थानीयवासीको ज्यान गइरहेको कुराले सबैभन्दा नराम्रोसँग पिरोलेको छ ।

विगतका वर्षहरूमा सर्पदंश उपचारका लागि विशेषज्ञ टोलीको व्यवस्था हुँदा सर्पको टोकाइबाट हुने मृत्युवरणमा उल्लेखनीय कमी आएको थियो भने १-२ वर्षयता विशेषज्ञ टोलीको सक्रिय सेवाका कारण सर्पदंशका कारण कुनै पनि अप्रिय घटना हुन पाएको थिएन ।

तर, पछिल्लो समय अस्पतालमा सर्पदंश विशेषज्ञ टोली उपलब्ध छैन। यसले गर्दा वर्षा याम नजिकिँदै गर्दा स्थानीयवासीहरूमा चिन्ता बढाएको छ । यही चिन्तालाई बुझेका कार्की चुनावमा विजयी भए लगत्तै अस्पतालमा सर्पदंश विशेषज्ञ टोली व्यवस्थापन गर्न अहोरात्र खटिइरहेका छन् ।

यसबाहेक, सिन्धुली-१ को समग्र विकासका लागि कार्कीले व्यवहारिक र परिणाममुखी योजनाहरू अघि सारेका छन्। सडक सञ्जाल विस्तार, ग्रामीण बस्तीमा आधारभूत सेवा, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार उनका प्राथमिक लक्ष्य हुन्।

त्यसैगरी कृषिमा आधुनिकीकरण, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने व्यवस्था र किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने योजना पनि उनले अघि सारेका छन्। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र वैदेशिक पलायन रोक्ने दीर्घकालीन सोच उनको मुख्य लक्ष्य हो।

संसद्मा उठ्ने आवाज

३८ वर्षका कार्की सांसद बनेपछि विशेष गरी यातायात क्षेत्रका समस्या र यातायात मजदुरका आवाज संसद्मा सशक्त रूपमा उठाउने बताएका छन्। आफूले लामो समयसम्म यही क्षेत्रमा काम गरेकाले त्यहाँका वास्तविक समस्या समाधानका लागि पहल गर्ने उनको प्रतिबद्धता छ।

त्यससँगै सिन्धुली-१ का विविध समस्या—पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, कृषि प्रवर्द्धन र विपद् जोखिम न्यूनीकरण जस्ता विषयलाई प्राथमिकताका साथ उठाउने उनले बताएका छन्।

नयाँ राजनीतिक संस्कारको प्रतिबद्धता

पुराना दलहरूमा देखिएको गुटबन्दी, सत्तामुखी राजनीति र प्रतिबद्धताभन्दा पदमुखी प्रवृत्तिले जनताको भरोसा गुमाएको कार्कीको तर्क छ। नयाँ सोच, इमानदार नेतृत्व र फरक कार्यशैलीमार्फत राजनीति गर्ने उनको दाबी छ।

उनका अनुसार सांसद कुनै विशेष सुविधा उपभोग गर्ने पद होइन, जनताको सेवा गर्ने जिम्मेवारी हो। त्यसैले जनतासँग नियमित संवाद, सार्वजनिक सुनुवाइ, विकास योजनाको निगरानी र संसद्मा क्षेत्रका मुद्दा बुलन्द रूपमा उठाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। यातायात व्यवसायबाट सुरु भएको धनेन्द्र कार्कीको यात्रा आज संघीय संसद्सम्म आइपुगेको छ। अब उनको लक्ष्य केवल पाँच वर्षको कार्यकाल पूरा गर्नु मात्र होइन, सिन्धुलीको विकास र समग्र देशको समृद्धिको मार्गमा योगदान पुर्‍याउने दीर्घकालीन राजनीति गर्नु हो।