• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इद पर्वले आपसी सद्भाव र एकताको भावना अझ सुदृढ बनाउने विश्वास छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले इद्–उल–फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले रमजान महिनाभर गरिएको रोजाले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने बताएकी छन् । उनका अनुसार यो महिना सत्कर्म र संयमको प्रतीकका रूपमा समेत लिइने भन्दै यस्ता मूल्यले समाजमा मानवता, सहअस्तित्व र समृद्धिको भावना बलियो बनाउने उल्लेख गरेकी छन् । इद्–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकतालाई अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले यस पर्वले नेपालीहरूबीच सम्मान, सहकार्य र सद्भाव बढाउँदै देशको समृद्धि र स्थायित्वमा टेवा पुर्‍याओस् भन्ने कामना गरेकी छन् ।