• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

८ महिनाको वैदेशिक व्यापार: १२ खर्ब ८९ अर्बको आयात, १ खर्ब ९१ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा आयात तथा निर्यात दुवै बढ्दा वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनदेखि फागुनसम्मको अवधिमा आयात १२.५४ प्रतिशत र निर्यात २०.८३ प्रतिशतले वृद्धि हुँदा समग्र वैदेशिक व्यापार १३.५५ प्रतिशतले बढेको हो ।

विभागका अनुसार यस अवधिमा १२ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको पहिलो ८ महिनामा ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालु आर्थिक वर्षको ८ महिनामा अर्थात् फागुन मसान्तसम्ममा १ खर्ब ९१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

आयात तथा निर्यातमा देखिएको वृद्धिले कुल वैदेशिक व्यापार बढेर १४ खर्ब ८० अर्ब रुपैयाँको पुगेको छ । गत वर्षको दाँजोमा यस वर्षको सोही अवधिमा निर्यात करिब १ खर्ब ७३ अर्बले बढेको हो । गत वर्षको पहिलो ८ महिनामा १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

यद्यपि, कुल वैदेशिक व्यापार बढेपनि आयात तथा निर्यातबिचको असन्तुलन थप वृद्धि हुँदा व्यापार घाटा समेत चुलिएको छ । गत आर्थिक वर्षको पहिलो ८ महिनामा ९ खर्ब ८७ अर्ब व्यापार घाटा रहेकोमा यस वर्षको सोही अवधिमा १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको हो । पोहोरको तुलनामा व्यापार घाटा ११.२२ प्रतिशतले बढेको हो ।

विभागका अनुसार हाल कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.९ प्रतिशत रहँदा निर्यातको हिस्सा १२.९१ प्रतिशत रहेको छ । अर्थात्, चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १०० रुपैयाँको वैदेशिक व्यापार गर्दा ८७ रुपैयाँ ९ पैसाको खरिद तथा १२ रुपैयाँ ९१ को पैसा विक्री गरेको छ ।