काठमाडौँ । आफ्नो निर्वाचन क्षेत्रका हजारौँ जनताले नेटवर्कको समस्या भोगिरहेको भन्दै बागलुङ २ का नवनिर्वाचित सांसद सोम शर्मा एक्सनमा उत्रिएका छन् । शर्माले बुधबार नेपाल टेलिकमकी कार्यकारी निर्देशक रिना डंगोललाई भेटेर समस्याहरू बारे ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधानका लागि आग्रह गरेका हुन् ।
शर्माले तमानखोला गाउँपालिका, बोङ्गाखानीमा तत्काल फोरजी उपकरण जडान गर्नुपर्ने र बोङ्गादोभान, भित्रिवन र नजाखानीमा बिग्रिएको नेटवर्क मर्मत सम्भार गरी नेटवर्क सुधार गर्न टेलिकमको ध्यानाकर्षण गराएका छन् ।
यीबाहेक, फोरजी नेटवर्क नचल्ने विभिन्न क्षेत्रहरूमा प्राविधिक टोली खटाई समस्या हल गरिदिन समेत शर्माले अनुरोध गरेका छन् ।
निसीखोला गाउँपालिकाका ४ र ५ नम्बर वडामा सञ्चारको पहुँच तथा ढोरपाटन नगरपालिकाको वडा नम्बर ३ र ९ मा सेवा बिस्तारको माग गरिएको छ ।
जनताको सूचनाको हक सुनिश्चित गर्नका लागि समेत यी मागहरू तत्काल सुनुवाइ हुनुपर्ने औँल्याउँदै शर्माले टेलिकमलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
शर्माको पहलपछि टेलिकमकी कार्यकारी निर्देशक डंगोलले ती कार्यहरू अघि बढाउन निर्देशन दिइएको बताएकी छिन् ।
