काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री बनेका सस्मित पोखरेलले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीको शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।
पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पाँच वर्षको पार्टीको १०० वटा बाचापत्र सबै मन्त्रीहरुले पूरा गर्नुपर्ने बताए । उनले मतदाताहरुबाट पाएको मतले आफूहरु निकै संवेदनशिल रहेको बताए ।
उनले भने, ‘हामीलाई मतदाताहरुबाट जुन किसिमको मत मिलेको छ त्यसमा निकै संवेदनशिल छौं । जिम्मेवारीबोधको हिसावले लिएका छौं । पाँच वर्षका लागि पार्टीका १०० वटा बाचापत्र छन्, त्यो पूरा गर्नु पर्नेछ ।’
साथै उनले शिक्षा क्षेत्रमा शिक्षकको क्षमता अभिवृद्धि, विद्यालयको पूर्वाधार सुधार, निजी विद्यालयहरुलाई पनि अझ व्यवस्थित बनाउने लक्ष्य रहेको बताए ।
उनले भने, ‘शिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु, विद्यालयको पूर्वाधार सुधार गर्नुपर्ने कार्यक्रमहरु, निजी विद्यालयहरुलाई पनि अझ व्यवस्थित बनाउने लक्ष्य छ । शिक्षा क्षेत्रलाई पारदर्शी बनाउने र उच्च विश्वविद्यालयलाई पनि सुधार गर्नुपर्ने छ । विशेषगरी नतिजामा, शिक्षक र क्षमतामा साथै पूर्वाधारमा सुधार गर्नुपर्ने गरी काम गर्नेछौं ।’
बालेन नेतृत्वको सरकारमा शिक्षा र खेलकुदमन्त्री बनेका उनी काठमाडौं ५ बाट निर्वाचित सांसद हुन् ।