• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेसँगै व्यवसायी दीपक भट्ट अध्यागमन विभागको कालोसूचीमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसपछि अध्यागमनले उनलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको र त्यसअनुसार राहदानीसमेत रोक्का गरिएको स्रोतले जनाएको छ ।

विभागले पत्राचारमार्फत भट्टलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमनले आवश्यक प्रक्रिया पूरा गर्दै उनको नाम समावेश गरेको हो । कालोसूचीमा परेपछि अब उनी सरकारको अनुमति बिना विदेश जान नपाउनेछन् ।

भट्टमाथि शंकास्पद आर्थिक कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोप छ । यसअघि २०७९ मंसिरमै उनीमाथि प्रारम्भिक अनुसन्धान सुरु भई बयानसमेत लिइएको थियो, तर पछि उक्त प्रक्रिया रोकिएको बताइन्छ । हाल राजनीतिक परिस्थिति परिवर्तनसँगै पुरानो फाइल पुनः सक्रिय बनाइ अनुसन्धान अगाडि बढाइएको हो ।

इन्फिनिटी होल्डिङ्सका प्रमुख रहेका भट्टमाथि राजनीतिक पहुँचको प्रयोग गर्दै ठेक्का, खरिद प्रक्रिया तथा विभिन्न नियुक्तिमा प्रभाव पार्ने, सेटिङ मिलाउने र स्वार्थअनुसार निर्णय गराउने आरोप लाग्दै आएको छ । ठूला सार्वजनिक खरिद, जलविद्युत् आयोजना, बैंक तथा बीमा क्षेत्रका लाइसेन्सलगायतका विषयमा समेत उनको संलग्नता रहेको आशंका छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार विस्तृत छानबिनका क्रममा विभिन्न आर्थिक कारोबारहरू शंकास्पद देखिएपछि अनुसन्धानलाई थप तीव्रता दिइएको हो । अनुसन्धानकै सिलसिलामा उनी विदेश फरार हुन सक्ने जोखिमका आधारमा कालोसूचीमा राखिएको बताइएको छ ।