• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

वैदेशिक रोजगारीमा जाँदाको अभिमुखीकरण तालिम शुल्क बढाइएको छैन: विभाग

काठमाडौँ । वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिमको शुल्क नबढाइएको स्पष्ट पारेको छ । विभागले मंगलबार सूचना जारी गर्दै प्रतिप्रशिक्षार्थी अधिकतम ७०० रुपैयाँ मात्रै शुल्क लिन पाइने व्यवस्था परिवर्तन नभएको जनाएको हो ।

अभिमुखीकरण तालिम दुई दिनसम्म सञ्चालन हुने र सो अवधिको कुल शुल्क ७०० रुपैयाँ नै हुने विभागको भनार्इ छ । पछिल्लो समय केही तालिम प्रदायक संस्थाले २ हजार रुपैयाँ भन्दा बढी असुलिरहेको गुनासो आएपछि विभागले यस्तो स्पष्टिकरण दिएको हो ।

विभागका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ तथा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार तोकिएको शुल्कभन्दा बढी रकम लिन पाइँदैन । शुल्क वृद्धि गरिएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि विभागले जनाएको छ ।

यदि कुनै संस्थाले निर्धारित शुल्कभन्दा बढी रकम लिएको प्रमाण फेला परेमा कानुनअनुसार कारबाही गरिने र त्यस्ता संस्थाको इजाजतपत्रसमेत खारेज हुन सक्ने चेतावनी दिइएको छ । साथै, विभागले सबै मान्यता प्राप्त तालिम केन्द्रलाई नियमअनुसार मात्रै शुल्क लिन निर्देशन दिएको छ ।

शुल्कसम्बन्धी अनियमितता भएमा सम्बन्धित निकायमा उजुरी गर्न विभागले श्रमिकहरूलाई आग्रह गरेको छ ।