• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरूको नयाँ सूची सार्वजनिक गरेको छ । नेप्सेले सार्वजनिक गरेको सूचीमा कुल १२३ कम्पनी समावेश छन् ।

ब्रोकर कम्पनीहरूले तोकिएको मितिबाट यही सूचीमा रहेका कम्पनीहरूको सेयरमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउने छन् ।

‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ अनुसार आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई छनोट गरी सूची तयार गरिएको नेप्सेले जनाएको छ । यस व्यवस्था लागू भएसँगै लगानीकर्ताले ती कम्पनीका सेयर धितो राखेर ब्रोकरमार्फत ऋण लिएर थप खरिद/बिक्री गर्न सक्नेछन् ।

सूचीमा विभिन्न क्षेत्रका कम्पनीहरू समेटिएका छन् । यस अनुसार १९ वाणिज्य बैंक, ११ विकास बैंक, ११ वित्त कम्पनी, १७ लघुवित्त, १२ जीवन बीमा र ११ निर्जीवन बीमा कम्पनी परेका छन् । त्यस्तै, २८ जलविद्युत कम्पनी, ६ लगानी समूहका कम्पनी, ३ होटल, २ उत्पादन तथा प्रशोधन कम्पनी, १ व्यापार कम्पनी र अन्य समूहका २ कम्पनी पनि समावेश छन् ।

मार्जिन कारोबारका लागि योग्य हुन कम्पनीहरूले निश्चित मापदण्ड पूरा गर्नुपर्छ । जसमध्ये कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा वितरण भई नेप्सेमा सूचीकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्ला तीन वर्षमध्ये कम्तीमा दुई वर्ष नाफामा रहेको तथा आईपीओ जारी भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । साथै, पर्याप्त बजार पूँजीकरण, उच्च तरलता, सकारात्मक वित्तीय अवस्था र नियमित रूपमा वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरू मात्र यसमा समेटिन्छन् ।

नेप्सेका अनुसार मार्जिन कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन यस्ता सूचिहरू समय-समयमा अद्यावधिक गरिनेछ । यद्यपि, सीमित पूँजीमा बढी लगानी गर्ने अवसर दिने यो सुविधा जोखिमपूर्ण पनि हुने भएकाले लगानीकर्तालाई सचेत रहन सुझाव दिइएको छ ।

यस सुविधा उपयोग गर्न चाहने लगानीकर्ताले सम्बन्धित ब्रोकरमार्फत मार्जिन कारोबार खाता खोल्नुपर्नेछ । स्टक ब्रोकर्स एसोसिएसनका अनुसार आवश्यक तयारी अन्तिम चरणमा पुगेकाले वैशाख २ गतेदेखि मार्जिन कारोबार सेवा औपचारिक रूपमा सुरु गर्ने योजना रहेको छ ।