काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका सांसद रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि बिहीबार बसेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले जनताले दिएको मतादेशप्रति प्रतिबद्धता व्यक्त गर्दै त्यसको सम्मान कामबाटै गर्ने बताएका छन् । उनले भने, ‘जनताले करिब दुई तिहाइको मताधिकारको आदेश दिएका छन् । जनतालाई प्रतिज्ञा गर्छु कि यो मतादेशको गुण हामी जिम्मेवारी पूरा गरेर तिर्नेछौं । यो मतादेशमा जनताको आशा पनि छ, आक्रोश पनि छ । पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु, हामीले बदल्न सुरु गरिसकेका छौं ।’
उनले केवल भाषणले मात्र परिवर्तन सम्भव नभएको उल्लेख गर्दै कामबाट प्रमाणित गर्नुपर्नेमा जोड दिए । ‘हामीले बोलेर मात्रै पुग्दैन । मैले मात्र होइन, रास्वपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामी राम्रै बोल्नुभन्दा पनि कामहरू, सरकारका कामहरू आफैं बोल्नेछन् । ती बोल्न सुरु गरिसकेको कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने ।
उनले सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नरहेको उल्लेख गर्दै छिटो काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीलाई हनिमुन पिरियडको सुविधा पनि चाहिँदैन । हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं, त्यो सुरु गरिसकेका छौं,’ उनले भने ।
लामिछानेले विपक्षी दलका प्रतिबद्धतासमेत कार्यान्वयन गर्न तयार रहेको स्पष्ट पार्दै विगतका सरकारबाट सिक्ने प्रतिबद्धता जनाए । ‘हामी आफ्ना मात्र होइन, विपक्षी दलका चुनावी प्रतिबद्धता पनि स्वामित्व लिन तयार भएर आएका छौं। यसअघि पनि पटक-पटक एकल बहुमतका सरकार नबनेका भने होइनन्। तर ती सरकारहरू इतिहासका अंग बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं,’ उनले भने ।
उनले जनताले दिएको बहुमतलाई गुमेको अवसरका रूपमा इतिहासमा लेखिन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास फेरि ‘गुमेको अवसर’ भनेर लेखियो भने कलंकित हुनेछौं, हामीलाई त्यो मन्जुर छैन,’ उनले भने ।