• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

३७% ले बढ्यो रेमिटेन्स, फागुनसम्ममा भित्रियो साढे १४ खर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा रेमिटेन्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि फागुनसम्म कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३७.७ प्रतिशतले बढी हो ।

फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षको फागुनमा १ खर्ब ५१ अर्ब रुपैयाँ मात्र आएको थियो ।

अमेरिकी डलरमा समेत रेमिटेन्स आप्रवाहमा वृद्धि देखिएको छ। यो अवधिमा करिब १० अर्ब १५ करोड डलर रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३१ प्रतिशतले बढी हो । साथै, खुद ट्रान्सफर आय पनि उल्लेखनीय रूपमा बढेर १५ खर्ब ९१ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

यद्यपि, रेमिटेन्स बढेपनि वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्यामा भने केही कमी आएको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ थियो ।

यसका पछाडि मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्व र केही समय हवाई उडानमा परेको अवरोधलाई प्रमुख कारणका रूपमा हेरिएको छ ।