• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, २१.४ महिनाको आयात धान्न पर्याप्त

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको दाँजोमा चालु आर्थिक वर्षको ८ महिनामा विदेशी मुद्रा सञ्चिति २७.५ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा पनि सञ्चिति उल्लेखनीय सुधार भएको छ । असार मसान्तसम्म १९ अर्ब ५० करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति फागुनसम्म आइपुग्दा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब ८ करोड डलर पुगेको छ ।

मुलुकको ढुकुटीमा रहेको यस कुल विदेशी मुद्रा सञ्चितिले २१.४ महिनासम्मको वस्तु आयातका धान्न पर्याप्त रहेको छ । यस सञ्चितिले १८.५ महिनासम्मको वस्तु तथा सेवा दुवैको आयात धान्न सक्ने देखिन्छ ।

यस अवधिमा रेमिटेन्स आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेकोले विदेशी मुद्रा सञ्चिति मजबुत अवस्थामा पुगेको हो ।

यसबाहेक, अर्थतन्त्रका बाह्य क्षेत्रका अन्य सूचकहरू पनि सकारात्मक देखिएका छन् । फागुन मसान्तसम्म चालु खाता ५५२ अर्ब ८५ करोड रुपैयाँले बचतमा छ । यो अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९७ अर्ब ३ करोड रुपैयाँको बचतमा थियो । अमेरिकी डलरमा चालु खाता ३ अर्ब ८८ करोड डलर बचतमा रहेको छ । अघिल्लो वर्षको १ अर्ब ४६ करोड डलरले बचतमा थियो ।

त्यसैगरी, शोधनान्तर स्थिति पनि सुदृढ बन्दै गएको छ । समीक्षा अवधिमा शोधनान्तर ६५८ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ । यो अघिल्लो वर्षको ३१० अर्ब ३७ करोड रुपैयाँको तुलनामा झण्डै दोब्बर हो । अमेरिकी डलरमा शोधनान्तर स्थिति ४ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब २९ करोड डलर रहेको थियो ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको ६ अर्ब ४१ करोड रुपैयाँको तुलनामा करिब दोब्बर हो । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब ८४ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको ८ अर्ब ४७ करोड रुपैयाँको तुलनामा वृद्धि देखिएको छ ।