काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले मनोनयन दर्ता गराएका छन् । अर्यालले शुक्रबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
अर्यालको प्रस्तावकमा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने रहेका छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल रहेका छन् ।
रास्वपा संसदीय दलको बिहीबार बसेको बैठकले अर्याललाई सभामुखको उमेद्दवारका रुपमा सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । प्रतिनिधिसभामा रास्वपाको करिब दुईतिहाइ नजिक रहेकोले अर्याल सभामुखमा निर्वाचित हुने निश्चितप्राय छ।
सभामुख चयन प्रक्रिया अन्तर्गत उम्मेदवारी दर्तापछि सूची प्रकाशन गरिनेछ र आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावक र समर्थकले प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि छलफलपछि निर्णयार्थ पेश गरिने कार्यतालिका तय गरिएको छ ।