काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार हुने तालिका परिवर्तन गरिएको छ । सोमबार बसेको नेप्से सञ्चालक समितिको बैठकले साताको कारोबार दिनलाई पुनःसंरचना गर्दै सोमबारदेखि शुक्रबारसम्म कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
सरकारले इन्धन खपत घटाउने र आपूर्ति व्यवस्थापन सुधार गर्ने उद्देश्यले सातमा शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भोलिपल्ट नेप्सेले आफ्नो कार्यतालिका सोहीअनुरुप परिमार्जन गरेको हो ।
यसअघि सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुल्ने गरेकोमा अब आइतबार पूर्ण रूपमा बन्द रहनेछ र त्यसको सट्टा शुक्रबार नियमित कारोबार हुनेछ । यद्यपि, कारोबार समय भने परिवर्तन गरिएको छैन ।
पहिले शुक्रबार सीमित कारोबार मात्र हुने व्यवस्था थियो भने अब सबै दिनसरह पूर्ण कारोबार हुनेछ । नेप्सेले यस परिवर्तनलाई कार्यान्वयन गर्न सम्बन्धित प्राविधिक तथा प्रशासनिक प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ ।