काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे-लिस्टबाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन) सँग सोमबार भएको छलफलमा अर्थमन्त्री वाग्लेले ग्रे-लिस्टले नेपालको अन्तर्राष्ट्रिय बदनामी भएको र लगानीको वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले गम्भीरतापूर्वक कदमहरू चालिरहेको बताएका हुन् ।
“सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौँदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा अघि बढेका केसहरू मा आधारित हुन्”, वाग्लेले भने, “ह्वाइटकल क्राइमलाई आर्थिक जरिवाना नै गर्ने ध्येय हो। संस्था वा व्यक्ति छानेर दुख दिने हाम्रो कुनै नियत छैन । हामी खुला बजार अर्थनीति मान्छौँ । त्यो भनेको छाडा अर्थतन्त्र होइन ।”
वाग्लेले निजी क्षेत्रलाई धरपकड गर्ने वा कसैलाई लक्षित गरेर कारबाही गर्ने सरकारको नियत नभएको स्पष्ट पार्दै कानुन अनुसार नै अघि बढ्ने र अपराधबाट कसैलाई छुट नदिइने समेत बताए ।
फरक प्रसङ्गमा, वाग्लेले सेयर बजारमा त्रास फैलाउने काम भइरहेको भन्दै असन्तुष्टि प्रकट गरे ।
“सरकारले कुनै धरपकड अभियान चलाएको होइन । यसलाई देखाएर साना लगानीकर्तालाई आतङ्कित पार्ने काम भएको देखिएको छ, जुन उचित होइन”, उनले भने ।
यस्तै, सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको वाग्लेको भनाई छ ।
“स्टक मार्केटमा आएर ‘सम्पत्ति कहाँबाट ल्यायौ?’ भनेर सोध्ने अवस्था छैन । सरकारले धरपकड गर्ने नीति लिएको छैन,” वाग्लेले भने, “यदि कसैले, इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानुन अनुसार मात्र कारबाही हुन्छ ।”
वाग्ले नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने समेत बताएका छन् ।
“अहिले बजार घटेको अवस्थामा अतालिनु आवश्यक छैन, सुनौला दिन आउँदै छन् । यो सरकारले २६५ साता काम गर्दै छ । एक साताको समयलाई अहो के गर्ने भन्ने अवस्था होइन”, वाग्लेले भने ।