काठमाडौँ । स्मार्ट टेलिकम सम्बन्धी प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एनसेलसँग अनुसन्धानमा सघाउन आग्रह गर्दै स्मार्ट टेलिकम लिलाम सम्बन्धी कागजात माग गरेको छ । सिआइबीले बिहीबार एनसेललाई एक पत्र लेख्दै दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमका उपकरण तथा टावरहरु लिलाम सम्बन्धी कागजातहरु उपलब्ध गराउन आग्रह गरेको हो ।
सिआइबीले माग गरेपछि एनसेलले आवश्यक कागजात उपलब्ध गराएको छ ।
“दूरसञ्चार कम्पनी स्मार्ट टलिकमका उपकरण तथा टावरहरु लिलाम सम्बन्धी केही कागजातहरु सीआईबीबाट पत्रमार्फत माग भई आएकोमा सोही बमोजिम कागजातहरु उपलब्ध गराइएको छ,” एनसेलका एक अधिकारीले भने, “एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा सदाझैँ कम्पनी सरकारी निकायहरूका काम कारबाहीमा आवश्यक सहयोग पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छ ।”
केही सञ्चार माध्यमहरुमा एनसेलको मुख्यालयमा सिआइबीले छापा मारेको समाचार आएको प्रति सिआइबीले खण्डन गरेको छ ।
“स्मार्ट टेलिकम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक जोडिएको प्रकरणमा अनुसन्धानका क्रममा एनसेलबाट कागजात लिइएको हो, छापा मारिएको हैन्,” सिआइबी स्रोतले भन्यो ।
हाल सिआइबीले स्मार्ट टेलिकमले कर्जा र ब्याज नतिरेपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अघि बढाएको सम्पत्ति लिलामी प्रकरणमा छानबिन गरिरहेको छ । बैंकले लिलामीमा राखेपछि स्मार्ट टेलिकमको उपकरण तथा टावरहरु एनसेलले किनेको थियो ।