• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

काठमाडौँ । फेसन आर्ट निर्देशक तथा स्टाइलिस सोन्या गुरुङले नेपाली कपडा र गहनाको सफल्तापूर्वक अन्तर्राष्ट्रिय प्रस्तुति गरेकी छिन् । सोन्या स्टाइल क्रिएटिभ फेसन टिम नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत रहेकी गुरुङले हङकङको हाइभ स्टुडियोसँगको सहकार्यमा ‘माउन्टेन्स टु दि मेट- च्याप्टर वन’ सफलतापूर्वक सम्पन्न गरेकी हुन् ।

यस परियोजनामार्फत नेपाली कपडा तथा परम्परागत गहनाहरूलाई सृजनात्मक फेसन कला र दृश्य कथावाचनमार्फत अन्तर्राष्ट्रिय मोडलहरूको सहभागितासहित प्रस्तुत गरिएको थियो । परियोजनाको अवधारणा अनुसार नेपाली कपडा र गहनालाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय मोडलहरू चयन गरिएको बताइएको छ ।

परियोजनाअन्तर्गत सम्पन्न मिट एन्ड ग्रिट कार्यक्रममा प्रमुख नेपाली व्यक्तित्व, समाजका अगुवा तथा आमन्त्रित अतिथिहरूको उपस्थितिका माभल फेसन आर्ट प्रस्तुतीको विशेष झलक प्रस्तुत गरिएको थियो ।

सृजनात्मक फेसन कथावाचनका लागि परिचित सोन्या गुरुङले दशकौँदेखि फेसन शो, सांस्कृतिक प्रस्तुति तथा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएकी छिन् । उनका फेसन कार्यक्रमहरू परम्परागत रनवेभन्दा फरक शैली, सृजनात्मक कोरियोग्राफी र कला–संस्कृतिको संयोजनका कारण परिचित छन् । साथै, उनले आफ्ना कार्यक्रममार्फत ओझेलमा परेका तथा कम अवसर पाएका प्रतिभाहरूलाई अवसर प्रदान गर्ने प्रयास समेत गर्दै आएकी छिन् ।

यस्तै, लोकप्रियता होइन, प्रतिभा र दृष्टिकोणको सम्मानको अवधारणासहित हङकङका शीर्ष एलिट समूहले सोन्या गुरुङको सिर्जनात्मक यात्रालाई साथ दिएका छन् । यस परियोजनामा नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्द्धन साझेदार तथा नेपाल एयरलाइन्स एयरलाइन साझेदारका रूपमा जोडिएका थिए, जसले नेपाली संस्कृति, सिर्जनशीलता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साझा उद्देश्यलाई बल प्रदान गरेको छ ।

‘माउन्टेन्स ट् दि मेट’ मार्फत सोन्या स्टाइल क्रिएटिभले नेपाली फेसन, कपडा, गहना र सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा पुर्‍याउने अभियान निरन्तर अगाडि बढाइरहेको छ ।