काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीचको ६ घण्टे संवाद ‘निर्णायक’ हुन सकेन । लामिछानेले बालेनलाई रास्वपाको फ्रेमभित्र अटाउन खोजेपछि बालेनले अब आफ्नै नेतृत्वमा ‘राजनीतिक बाटो’ तय गर्ने संकेत दिएका छन् ।
सहमतिको विन्दु फेला नपरेपछि बालेन आफ्नै दल निर्माणको घनीभूत गृहकार्यमा जुटेका छन् । यसका लागि उनले कांग्रेस, एमालेदेखि रास्वपासम्मका असन्तुष्ट र प्रभावशाली युवा अनुहारहरूलाई समेट्ने रणनीति लिएका छन् । बालेनको सचिवालयका सदस्यहरू भुपदेव शाह र सुनिल लम्साल यतिबेला विभिन्न दलका युवा नेताहरूसँग संवादमा व्यस्त छन् ।
कुपण्डोलमा भइरहेका श्रृंखलाबद्ध बैठकहरूमा सीके राउत, रेशम चौधरी, मिलन पाण्डेदेखि रास्वपा छाडेकी सुमना श्रेष्ठ र गणेश कार्कीसम्मको नाम चर्चामा छ । बालेनको यो कदमले आगामी निर्वाचनमा परम्परागत दल र रास्वपा दुवैलाई चुनौती दिने देखिन्छ ।
यसअघि गत सोमबार कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम साहको कार्यालय भवनमा रवि लामिछाने र बालेन साहबीच मध्यरातसम्म छलफल भएको थियो । छलफलपछि एउटै गाडी चढेर बाहिरिएको दृष्यले धेरैलाई उनीहरु अब एउटै पार्टीमा रहने अनुमान गरेका थिए ।