काठमाडौँ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबीमध्ये हालसम्म ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार पुस १६ गतेसम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट सो रकम भुक्तानी गरिएको हो ।
जेनजी आन्दोलनमा भएको क्षतिका कारण देशभरका निर्जीवन बीमा कम्पनीहरूमा कुल ३ हजार ३१६ वटा दाबी दर्ता भएका छन् । जसमार्फत २३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । सोही दाबीको अध्ययनपश्चात् बीमा कम्पनीहरूले बीमा भुक्तानी गर्दै आएका हुन् ।
प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । कम्पनीमा ४०९ वटा निवेदनमार्फत ५ अर्ब ५७ करोड ९० लाख रुपैयाँको प्रारम्भिक दाबी परेको छ । यसमध्ये कम्पनीले हालसम्म १ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यसपछि द ओरियण्टल इन्स्योरेन्समा १०१ वटा निवेदनमार्फत ५ अर्ब ४३ करोड ५१ लाख रुपैयाँको दाबी परेको छ । यसमध्ये कम्पनीले ११ करोड ५ लाख रुपैयाँ मात्र भुक्तानी भइसकेको उल्लेख गरेको छ ।
हालसम्म आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ११ करोड ३१ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ७३ करोड १८ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३७ करोड ३१ लाख, नेको इन्स्योरेन्सले २८ करोड ६२ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २७ करोड ७८ लाख दाबी भुक्तान गरिसकेका छन् ।
यस्तै, सानिमा जिआईसीले १३ करोड ९४ लाख, नेपाल इन्स्योरेन्सले १८ करोड २७ लाख, एनएलजी इन्स्योरेन्सले २३ करोड ८० लाख, युनाइटेड अजोड इन्स्योरेन्सले ८ करोड ४० लाख र प्रभु इन्स्योरेन्सले १ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गरिएको जनाएका छन् ।