• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

धार्मिक र सामाजिक सद्भाव भड्काउनेलाई पर्सा प्रशासनको कडा चेतावनी

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधि गर्नेहरूलाई कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

प्रशासनले एक अपिल जारी गर्दै फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा सुक्ष्म निगरानी बढाइएको र कोही कसैले गलत गतिविधि गरेको पाइएमा तत्काल पक्राउ गरी कारबाही अगाडि बढाइने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सामाजिक सद्भावमा खलल पुर्‍याउने, एक अर्कामा सामाजिक तथा धार्मिक वा साँस्कृतिक द्वेष भाव सिर्जना गरी राष्ट्रिय एकतामा आँच पुर्‍याउने वा झुट्टा अफवाह फैलाई कुनै धर्म समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरूको निगरानी भइरहेको छ।”

प्रशासनले यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने स्पष्ट पारेको छ।

कसैले कुनै जात, जाति वा सम्प्रदायको धार्मिक आस्था वा धर्मको अपमान गर्ने नियतले धार्मिक स्थल, पवित्र मानिएको स्थान, चिहान वा मसानघाटमा नोक्सानी पुर्‍याएमा वा फोहोरमैला गरेमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

लेखेर, वचनले वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट धार्मिक भावनामा आघात पुर्‍याउने कार्य गरेमा दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले रोक लगाएका सामग्री प्रकाशन गर्ने, साम्प्रदायिक घृणा वा द्वेष फैलाउने, महिलालाई जिस्क्याउने वा हैरानी गर्ने जस्ता अमर्यादित कार्य गरेमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रशासनले स्मरण गराएको छ।

पर्सा प्रशासनले यी कानुनी व्यवस्थाहरूको बारेमा सबैलाई जानकारी गराउँदै यसको कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ।