• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कांग्रेस बदलेर देश बदल्ने संकल्प : विशेष महाधिवेशनमा गगन थापाको राजनीतिक प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनलाई पार्टी रूपान्तरण र देश निर्माणको नयाँ प्रस्थानविन्दुका रूपमा व्याख्या गरेका छन्। सोमबार बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले ‘बदलिएको कांग्रेस र बदलिँदो देश’को कार्ययोजना अघि सारेका हुन्।

महामन्त्री थापाले पेस गरेको प्रस्तावमा पार्टीलाई सच्चिने, बदलिने र केही गर्न सक्ने गतिशील शक्तिका रूपमा सन्देश दिनुपर्नेमा जोड दिइएको छ। कांग्रेसलाई केवल एउटा राजनीतिक दलमा मात्र सीमित नराखी लोकतन्त्रप्रति निष्ठावान् र जनताप्रति उत्तरदायी शक्ति बनाउनु यो महाधिवेशनको ऐतिहासिक जिम्मेवारी भएको उनले उल्लेख गरे।
उनले भनेका छन्,‘कांग्रेसले इतिहासमा युगान्तकारी जिम्मेवारीहरू पूरा गरेको छ। अब फेरि समयले प्रत्येक सदस्यबाट उच्च नैतिक आदर्श र निष्ठा खोजेको छ।’

प्रस्तावमा आम जनता र विशेषगरी युवा पुस्तामा नयाँ विश्वास र आशा जगाउनुपर्ने आवश्यकता औँल्याइएको छ। पार्टीभित्र र बाहिर देखिएको उदासीनतालाई चिर्दै समर्थक र शुभेच्छुकहरूको स्नेहलाई पुनर्जीवित गर्ने प्रतिबद्धता थापाले जनाएका छन्। पार्टी संगठनभित्र प्रत्येक सदस्यले न्याय र ऊर्जाको अनुभूति गर्नुपर्ने उनको तर्क छ।

महामन्त्री थापाले नवीन ऊर्जा, उत्साह र एकताका साथ ‘समुन्नत नेपाल’ निर्माणको अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन्। कांग्रेसले आफ्नो स्थापनाकालीन जनमुखी आदर्शलाई आत्मसात् गर्दै रूपान्तरणसहित देशको नेतृत्व गर्न तयार हुनुपर्ने संकल्प प्रस्तावमा गरिएको छ। अग्रजले जोगाएको निष्ठालाई कमजोर हुन नदिने प्रण गर्दै उनले कांग्रेसको अबको बाटो स्पष्ट र गतिशील हुनुपर्ने बताएका छन्।