काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सरगर्मीसँगै काठमाडौँ क्षेत्र नम्बर ४ को चुनावी मैदानमा एउटा यस्तो नाम झुल्किएको छ, जसले उमेरको सीमालाई चुनौती दिँदै राज्य प्रणालीमा ‘सर्जिकल स्ट्राइक’ गर्ने आँट देखाएको छ । उनी हुन्— ८८ वर्षीय पूर्वप्रशासक मदनदेव आचार्य ।
जीवनको उत्तरार्धमा आराम गरेर बस्नुपर्ने उमेरमा आचार्यको मनमा एकाएक एउटा हुटहुटी जाग्यो, ‘मैले जीवनभर सँगालेको प्रशासनिक अनुभव अब संसद्को रोस्ट्रममा उभिएर राज्यलाई सुनाउनुपर्छ ।’ राजनीति र प्रशासनको नसा–नसा बुझेका उनले त्यहाँभित्र मौलाएको भ्रष्ट नीति र बेथिति देख्दा देख्दै चुप लागेर बस्न सकेनन् । त्यही छटपटीले उनलाई सिंहदरबारको उच्च ओहोदाबाट संसद्को ढोका ढकढक्याउन पुर्याएको छ ।
स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका आचार्यले कुनै सस्तो लोकप्रियताका लागि होइन, नीतिगत शुद्धीकरणको कडा एजेन्डा बोकेका छन् । उनको तर्क छ, ‘जबसम्म देशको नीति नै भ्रष्ट हुन्छ, तबसम्म पात्र फेरिएर केही हुँदैन ।’
आचार्यका लागि यो उम्मेदवारी केवल चुनाव जित्ने दाउपेच मात्र होइन, बरु मुलुकलाई सबल बनाउन आफ्नो अनुभव राज्यलाई सुम्पने एउटा ‘अन्तिम इच्छा’ पनि हो । उनीसँग देश निर्माणको स्पष्ट खाका छ र संसद्लाई बौद्धिक बहसको थलो बनाउने संकल्प छ । ८८ वर्षको यो ‘तन्नेरी जोश’ का साथ उनी अहिले निर्वाचनको तयारीमा छन् । उनी ‘दुर्बिन’ चुनाव चिन्ह लिएर उम्मेदवारका रुपमा खडा भएका छन् । उनी भन्छन् ‘भित्र बसेर नै टाढाटाढाका भिजन दुर्बिनबाट हेर्न सकिने भएका कारण म आफैँले दुर्बिन चुनाव चिन्ह रोजेको हुँ ।’
परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयमा उच्च प्रशासक भएर लामो समय काम गरिसकेका व्यक्ति हुन् आचार्य । आफ्नो उम्मेदवारीको उद्देश्यबारे प्रष्ट पार्दै आचार्य भन्छन्, ‘म मन्त्री वा प्रधानमन्त्री हुनका लागि चुनाव उठेको होइन, मेरो उमेरले त्यो दिँदैन । मैले आफ्नो पेन्सनको पैसा खर्च गरेर केही कुरा सरकारलाई भन्न खोजेको हुँ, तर कसैले सुनेनन् । अब संसदको रोस्ट्रममा उभिएर सबै कुरा रेकर्ड गराउन चाहन्छु ।’
सिंहदरबारभित्रको भ्रष्टाचारलाई नग्न रूपमा चित्रण गर्दै उनले हाकिमहरूले घरका लागि फ्रिज, फर्निचर र बेड समेत सरकारी पैसामा किन्ने र बिल अफिसको नाममा बनाउने गरेको दाबी गर्छन् । उनी भन्छन्, ‘भ्रष्टाचार रोक्ने हो भने कर्मचारीको तलब अहिलेको भन्दा कम्तीमा दोब्बर बनाइदिनुपर्छ । जब कर्मचारीको घर खर्च सहजै चल्छ, तब मात्र उसलाई इमानदार बन्न दबाब दिन सकिन्छ ।’ आफ्नो इमानदारीको प्रमाण दिँदै उनले थपे, ‘नेपालगन्ज भन्सारमा ६ लाख मात्र राजस्व उठ्ने ठाउँमा मैले ३९ लाख पुर्याइदिएको थिएँ, त्यतिबेला मलाई कसरी फसाउन खोजियो, त्यो सबै कथा मेरो ‘खिचडी’ पुस्तकमा लेखेको छु ।’
राजनीतिक दलका शीर्ष नेताहरूप्रति निकै आक्रामक देखिने आचार्यले शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई एउटै डालोमा राख्दै उनीहरूबीच भित्री मिलेमतो रहेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘बाहिर उनीहरू एकअर्कासँग लडे जस्तो गर्छन्, तर भित्र कोठामा बसेर राज्यको स्रोत कसरी बाँडेर खाने भन्ने सल्लाह गर्छन् ।’
गगन थापालाई लक्षित गर्दै उनले राजा ज्ञानेन्द्रमाथि लगाएका आरोपको प्रमाण माग गरे। वर्तमान व्यवस्थाप्रति असन्तुष्ट आचार्यले संघीयता र विशेषगरी प्रदेश तहलाई सेतो हात्तीको संज्ञा दिँदै यसलाई तत्काल खारेज गर्नुपर्ने अडान राख्छन्। उनको सुझाव छ, केन्द्रबाट सिधै स्थानीय तहलाई अधिकार र बजेट दिनुपर्छ, बीचको यो झन्झटिलो र खर्चिलो तहको कुनै काम छैन।
परराष्ट्र मन्त्रालयको अनुभवका आधारमा उनले नेपालको कुटनीतिको समेत तीव्र आलोचना गर्छन्। नेपालले संसारभर दूतावास राख्नु आवश्यक नभएको जिकिर गर्दै उनी भन्छन्, ‘नेपालका लागि भारत, चीन, अमेरिका र बेलायत जस्ता ५–७ वटा देशमा मात्रै आवासीय राजदूत राखे पुग्छ। कार्यकर्तालाई राजदूत बनाएर पठाउँदा देशको इज्जत मात्र गएको छैन, राज्यको अर्बौँ पैसा खेर गइरहेको छ।’
उनले विदेशी शक्तिहरूले नेपालका नेताहरूलाई खुसी पार्न दिने मेडिकल र इन्जिनियरिङका छात्रवृत्ति सिटहरू नेताहरूले ५०–६० लाख रुपैयाँमा बिक्री गर्ने गरेको वा आफ्ना नातागोतालाई बाँड्ने गरेको गम्भीर खुलासा समेत गरे। कालापानी र लिपुलेकको विषयमा पनि उनले प्रष्ट कुरा गर्दै यो ‘डिस्प्युटेड’ एरिया भएको र परराष्ट्र मन्त्रालयमा हुँदा यसबारे धेरै कुरा नजिकबाट बुझेको बताए।
आफ्नो व्यक्तिगत जीवनको प्रसङ्ग जोड्दै आचार्यले अमेरिकाको ग्रीन कार्ड त्यागेर देश बनाउन फर्किएको दाबी गरे। आफ्ना सबै सन्तान अमेरिकामा रहेको उल्लेख गर्दै उनले भावुक मुद्रामा भने, ‘मेरा सन्तान यहाँको भ्रष्ट तन्त्रमा काम गर्न चाहँदैनथे, त्यसैले मैले पनि उनीहरूलाई विदेश नै जान दिएँ। देश सुध्रिएपछि मात्र उनीहरू फर्कनेछन्।’ राजा महेन्द्र र वीरेन्द्रको पालामा काम गरेका उनी वर्तमान नेताहरूमा बीपी कोइरालाको जस्तो स्तर र नैतिकता कतै नभएको बताउँछन्। सशस्त्र प्रहरीलाई समेत आजको समयमा आवश्यक नरहेको र उनीहरूलाई पहाडमा फलफूल खेतीमा लगाउनुपर्ने जस्ता कडा र भिन्न विचार उनले अघि सारेका छन्।
८८ वर्षको उमेरमा पनि निकै प्रष्ट वक्ता र तिखो स्मरणशक्ति भएका आचार्यको यो उम्मेदवारीले काठमाडौँ–४ का मतदातालाई निकै पुरानो अनुभव र नयाँ सोचको सम्मिश्रण भएको एउटा फरक विकल्प दिएको छ । चुनावी प्रचारको शैलीमा पनि आचार्य अरूभन्दा पृथक् छन्। उनी घरदैलोमा गएर हात जोड्दै भोट माग्ने पक्षमा छैनन्। उनी भन्छन्, ‘म भोट माग्न कसैको दैलोमा जान्नँ। म मोटरमा पनि हिँड्दिनँ। यदि जनतालाई देशको माया छ र संसदमा सत्य सुन्न मन छ भने मलाई भोट देऊ, होइन भने नदेऊ, मलाई केही मतलब छैन।’